आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपमा जापानका ५७ वर्षीय पूर्व न्यायमन्त्री कावाई कात्सुयुकी र उनकी ४६ वर्षीय श्रीमती कावाई आन्री  पक्राउ परेका छन् ।

स्रोतअनुसार कात्सुयुकीले गत वर्ष आफ्नो श्रीमती आन्रीको चुनाव अभियानमा स्थानीय अभियानकर्मीहरु र विभिन्न व्यक्तिहरुलाई २४ मिलियन येन नगद दिएर भोट सुरक्षित गरेको आरोप छ ।

गत वर्ष जुलाईमा आन्रीले जापानी संसदको माथिल्लो सदनको चुनाव जितेकी थिइन ।

हिरोसिमाको निर्वाचन क्षेत्र नं ३ बाट संसदको तल्लो सभाका लागि सात पटकसम्म निर्वाचित कात्सुयुकीले २०१९ को सेप्टम्बरदेखि न्यायमन्त्रीको जिम्मेवारी सम्हाल्हेका थिए । उनले न्यायराज्य मन्त्री तथा विशेष कुटनीतिक सल्लाहाकारका रूपमा काम गरिसकेका छन् ।

मन्त्री कात्सुयुकीले २०१९ को नोभेम्बरमा पत्नी आन्रीले निर्वाचन कानूनको उल्लङ्घन गरेको आरोपपछि नैतिकताका आधारमा राजिनामा दिएका थिए ।

आन्रीले आफ्नो पति कावाईको निर्वाचन क्षेत्रमा अभियानकर्मीलाई कानूनमा व्यवस्था भएभन्दा दोब्बर खर्च उपलब्ध गराएको र मतदातालाई समेत आलु तथा मकैको उपहार दिएर मत प्रभावित गराएको आरोप लागेको थियो ।

यद्यपि, कावाइले आफूमाथि लागेको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन् ।

तपाईको प्रतिक्रिया