शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – काठमाडौंमा स्थापित नेपाली लोकबाजा संग्रहालयमार्फत नेपाली बाजागाजा संरक्षण एवं लोकसंगीत र संस्कृति झल्काउने गतिविधि जारी राखेकोमा कँडेल  २५ औँ निक्केई एसिया अवार्ड (日経アジア賞) बाट पुरस्कृत हुन लागेका हुन् ।

बाजागाजाका जानकार कँडेलले २०५४ सालमा औपचारिक रूपमा जिल्ला प्रशासन, काठमाडौंमा दर्ता भएपछि सुरुमा कालधारास्थित आफ्नै डेरामा बाजागाजा संग्रह गर्न थालेका थिए । २०५८ सालदेखि भद्रकालीमा नेपाल सम्पदा संघसँगै कोठा भाडामा लिएर ५ वर्षसम्म संग्रहालय विस्तारको काम जारी राखे । २०६४ सालदेखि भने त्रिपुरेश्वरस्थित गुठी संस्थानको सत्तलमा बस्ने गरी मन्त्रिस्तरीय बैठकबाटै अनुमोदन पाएर संग्रहालयले आफ्नो गतिविधि अघि बढाइरहेको छ ।

कँडेलका अनुसार अहिलेसम्म नेपालभर १३ सयभन्दा बढी बाजागाजा रहेको तथ्यांक छ । संग्रहालयमा ६ सय ५५ बाजागाजा राखिएका छन् । मल्लकालीन समयदेखि विभिन्न जातजाति, वर्ग, समुदाय र भूगोल विशेषका बाजागाजा संग्रहालयले जोगाइरहेको छ ।

बजाउन छाडिएको र उपयोगहीन पुरानो बाजालाई पनि संग्रहमा राख्ने गरिएको हो ।

संग्रहालयबाट ‘बाजा’ नामको जर्नल पनि प्रकाशित हुँदै आएको छ । सन् २०११ यता हरेक वर्ष काठमाडौंमा अन्तर्राष्ट्रिय लोकसंगीत महोत्सव पनि सुचारु छ । इन्टरनेसनल काउन्सिल फर ट्रेडिसनल म्युजिकको सम्मेलनमा अन्तर्राष्ट्रिय रूपमा संग्रहालय सहभागी हुँदै आएको छ । संग्रहालयका लागि सरकारले वार्षिक १५ लाख रुपैयाँ सहयोग दिँदै आएको छ ।

जापानको सबैभन्दा ठूलो मिडिया कम्पनी निक्केई (日本経済新聞社) द्वारा प्रत्येक वर्ष आयोजित हुने निक्केई एसिया अवार्ड (日 経 ア ジ ア 賞) मा समाजका तीन क्षेत्र – क्षेत्रीय विकास, विज्ञान र प्रविधि र संस्कृतिको समृद्धि र प्रगतिमा योगदान पुर्‍याउने एशियाका कुनै व्यक्ति वा संगठनहरूलाई प्रशंसा स्वोरुप पुरस्कृत गरिन्छ।

कँडेलसँगै २०२० को २५ औँ निक्केई एसिया अवार्ड भारतका थालाप्पिल प्रदीप र संयुक्त रूपमा मलेसियाका एन्थोनी ट्यान तथा ट्यान हुई लिङलाई पनि पुरस्कार प्रदान गरिने भएको छ ।

कँडेललाई नेपाली लोक बाजा तथा लोक संस्कृतिको संरक्षण ,सम्बर्द्धन तथा अन्तरराष्ट्रियस्तरमा प्रवर्द्धन गर्नमा योगदान पुर्‍याएवापत अवार्ड प्रदान गरिने आयोजकले जनाएका छन् ।

प्रदीपले विज्ञान र प्रविधि अन्तर्गत पानी शुद्धीकरण प्रक्रियाको नवीन पद्धतिमार्फत प्रतिलिटर २ पैसामा उपलब्ध गराएबापत र एन्थोनी–हुईलाई क्षेत्रीय विकास अन्तर्गत मलेसियाको ट्याक्सी सेवासहित अरू बन्द–व्यापारमा प्रयोग गर्न मिल्ने ‘एप्स’ उत्पादन गरेबापत निक्केई पुरस्कार दिने निर्णय भएको हो ।

कोरोना संक्रमणका कारण निक्केई एसिया अवार्ड समारोहको तिथि तय नभए पनि सन् २०२० को अन्त्यमा टोकियोमा पुरस्कार दिइने जनाइएको छ ।

तपाईको प्रतिक्रिया