शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात गायन रियालिटी शो अमेरिकन आइडलको टप १० मा प्रवेश पुगेका छन्।  जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनले टप १० मा आफ्नो स्थान सुरक्षित गरेका हुन् ।

अमेरिकन आइडलमा उनले आफूलाई ‘अर्थर गन’ नामले चिनाएका छन् ।अमेरिकन आइडलको यति माथि पुग्ने उनी पहिलो नेपाली हुन्।  २२ वर्षीय पोखरेल कन्सास राज्यको विचिटामा परिवारसँग बस्छन्।

सन् २०१४ मा उच्च शिक्षा अध्ययनका सिलसिलामा अमेरिका गएका दिवेश संगीतमा समर्पित भएर लागेको दुई वर्ष मात्रै भयो । काठमाडौंको एस कलेज इन्स्टिच्यूटमा व्यवस्थापनमा प्लस टु उत्तीर्ण गरेपछि उनी अमेरिका गएका थिए ।

कोभिड १९ का कारण गत सातादेखि अमेरिकन आइडल घर–घरबाट प्रतिस्पर्धी, जज, संगीतकर्मी, सञ्चालक, प्रशिक्षकलाई जोडेर प्रसारण गरिदैंछ।  गत सातादेखि नै प्रतिस्पर्धीलाई भोट दिन मिल्ने भएको छ। पोखरेलको भोटिङ्ग कोड १६ रहेको छ।

अमेरिकन आइडलको अडिसनदेखि नै दिवेशले निर्णायकहरुको तारिफ पाउँदै आएका थिए । त्यो क्रम अहिलेसम्म जारी छ । उनलाई टप ५ को दावेदारका रुपमा हेरिएको छ ।

टप १० मा छनोट भएपछि दिवेशले आफ्ना समर्थकहरुलाई धन्यवाद दिएका छन् । उनले फेसबुकमा स्टाटस लेख्दै संसारभरबाट आफूलाई ठूलो माया र हौसला प्राप्त भइरहेको उल्लेख गरेका छन् ।

 

 

 

 

तपाईको प्रतिक्रिया