शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

नागासाकी – मर्मतका लागि नागासाकी बन्दरगाहमा राखिएको एक क्रुज पानीजहाजमा रहेका थप ४३ जनामा शुक्रबार कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । हालसम्म सो जहाजमा रहेका ९१ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको स्थानीय अधिकारीहरुले बताएका छन् ।

मर्मतका लागि नागासाकी बन्दरगाहमा रोकिराखिएको कोस्टा एटलान्टिका नामक इटालियन क्रुज पानीजहाजमा कुल ६ सय २३ व्यक्तिहरु छन् ।

नागासाकीमा जनवरी २९ तारिकमा आइपुगेको सो जहाजभित्र १४ विभिन्न समुहमा भाइरसको संक्रमण फैलिएको प्रारम्भिक तथ्य फेला परेको छ । सो जहाज अप्रिलको अन्त्यसम्म नागासाकीमै रहने तालिका थियो ।

मर्मतका लागि चीन पुग्नुपर्ने यो जहाज चीनमा कोरोना भाइरसको संक्रमण फैलिएकै कारण मर्मतकर्ता कम्पनीले जापानमा ल्याई मर्मत गरिरहेको थियो ।

मार्च १४ मा पहिलो पटक सो जहाजका यात्रुमा कोरोना भाइरसको संक्रमण देखिपश्चात कोही पनि जहाज छाडेर बाहिर नगएको बताएको मिचुविसी जहाज निर्माता कम्पनीले यही बुधबार भने चालकदलका केही सदस्यहरु बाहिर गएको स्वीकारेको थियो ।

कोरोना भाइरसको परिक्षण गर्दा संक्रमण नदेखिएका व्यक्तिहरुलाई उनीहरुको देश फिर्ता पठाउने तयारी गरिएको छ । त्यहाँ कुन देशका कति नागरिक छन् भन्ने खुलाइएको छैन ।

गत महिना योकोहामामा क्वारेन्टायन गरेर राखिएको डाइमण्ड प्रिन्सेस नामक क्रुज पानीजहाजका ७ सय भन्दा बढि यात्रुमा कोरोना भाइरसको संक्रमण भेटिएको थियो ।***

तपाईको प्रतिक्रिया