शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो– टोकियो गभर्नर युरिको कोइकेले टोकियोबासीहरुलाई घरायसी सामान किनमेलका लागि तीनदिनमा एक पटक मात्र बाहिर निस्कन अनुरोध गरेकी छन् । कोरोना भाइरस संक्रमण बढिरहँदा सुपमार्केट तथा शपिङ सेन्टरहरुमा देखिएको भिडभाड घटाउनको लागि दिनदिनै किनमेलका लागि निस्कनुभन्दा कम्तिमा तीनदिनमा एक पटक किनमेल गर्न अनुरोध गरेकी हुन् ।

प्रधानमन्त्री शिन्जो आबेले संकटकाल घोषणा गरेपछि जापानको शहरी क्षेत्रहरूमा मानिसहरुको भिडभाड घटेको भएपनि सुपरमार्केट तथा शपिङ सेन्टरहरुमा भने भिडभाड झन बढेको पाइएको छ ।

कोइकेले बिहिबार आयोजित विशेष पत्रकार सम्मेलनमा सुपरमार्केटमा भिडभाड घटाउनको लागि संचालकहरुसंग सहकार्य गर्ने समेत बताइन् ।

ग्राहकहरुलाई भिड बढि हुने समयको जानकारी गराउने, शपिङ्ग बास्केटको संख्या घटाउने, बृद्ध र अशक्त मानिसहरुको लागि छुटै समय तोक्ने, केही समयका लागि बोनस प्वाइन्ट क्याम्पेनहरु रोक्ने लगायतका उपायहरु अपनाउन व्यवसायीहरुलाई आग्रह गरेकी छन् ।

ओसाका गभर्नर हिरोफुमी योशिमुराले पनि विहिबारनै सुपरमार्केट संचालकहरुलाई बृद्धहरुका लागि किनमेलको समय तोक्न आग्रह गरेका थिए ।

कोइकेले केहि समय अगाडि सीमित समयका लागि ग्राहकहरुलाई किनमेलको लागि जान दिने र प्रत्येक घरबाट थोरै मानिस मात्रै जान पाउने कडा नियम कार्यान्वयन गर्न जरुरी रहेको बताएकी थिइन् ।

गोल्डेन वीकको बिदामा उनले सबैलाई घर भित्रै बस्न र अन्य प्रिफेक्चरहरुमा नजानका लागि समेत अनुरोध गरेकी छन् । उनले यो बर्ष ‘गोल्डेन वीक’ नभएर ‘स्टे एट होम वीक’ का रुपमा मनाउन आग्रह गरिन ।

कम्पनीहरुलाई यस बर्षको गोल्डेन वीकमा १२ दिन विदाको व्यवस्था गर्न आग्रह गर्दै उनले कर्मचारीहरुलाई कार्यालयमा उपस्थित नहुनेगरि टेलिवर्कको व्यवस्था गर्ने अनुरोध दोहोर्याइन ।

टोकियोमा विहिबार पनि १ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । योसंगै टोकियोभित्र मात्र संक्रमितहरुको संख्या ३ हजार ५ सय ७३ जना पुगेको छ । जसमध्ये ५९ जना सफल उपचारपश्चात निको भई घर फर्किसकेका छन् । ***

तपाईको प्रतिक्रिया