काठमाडौं – सरकारले प्रहरीले बरामद गरेका १० लाख थान मास्कको डिजिटल दशी राखेर बजारमा बिक्री वितरणका लागि पठाउने तयारी थालेको छ । यसका लागि महान्यायाधीवक्ताको कार्यालयले प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवाली सहितलाई बोलाएर बरामद मास्क सुपथ मूल्यमा सर्वसाधारणसम्म पुर्याउन बैठक गरिरहेको हो ।
महान्यायाधीवक्ता अग्नी खरेलले बरामद मास्कको डिजिटल दशी (भिडियो, अडियो र फोटो) प्रमाणका रुपमा राखेर बजारमा कुनै एउटा विश्वासिलो संस्थामार्फत बिक्री वितरणका लागि पठाउने तयारी भइरहेको बताए । ‘आईजीपी सहितको बैठक बस्दैछौं,’ महान्यायाधीवक्ता खरेलले भने ‘सरकारी संस्था वा निकायमार्फत बरामद मास्क सर्वसाधारणले सुपथ मूल्यमा खरिद गर्न पाउने ब्यवस्थापन गदैछौं ।’
कोरोना भाइरस (कोभिड-१९) को महामारी फैलिएसँगै नेपालमा रोकथामका लागि आवश्यक चिकित्सकीय सामाग्रीको अभाव सुरु भएको छ । प्रहरी–प्रशासन बजारमा मास्क र स्यानिटाईजरको कृतिम अभाव सृजना गरेर कालोबजारी भइरहेको तथ्यसँगै यस बिरुद्धको अभियानमा सक्रिय छन् । उपचारमा संलग्न चिकित्सक, बिरामी र उसको नजिक रहने ब्यक्तिका लागि अति आवश्यक र अनिवार्य मानिएको चिकित्सकीय मास्कको बजारमा अभाव छ । यसले उपचारमा संलग्नहरू अप्ठेरोमा छन् ।
यही क्रममा काठमाडौं प्रहरीले तीन दिनमा करिब १० लाख भन्दा बढी मास्क बरामद गरेको छ । तर ती मास्कको कालोबजारीमा संलग्नहरूलाई पक्राउ गरेसँगै बरामद मास्क दशीका रुपमा जिल्ला प्रशासन कार्यालयमा थन्किएका छन् । बजारमा मास्कको अभाव भइरहँदा लाखौं मास्क कानूनी अड्चनका कारण प्रशासनमा थन्किएका हुन् । कानून अनुसार मुद्दाको अन्तिम किनारा नलागेसम्म ती मास्क दशीका रुपमा राख्नु पर्छ ।