शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – परदेशी गायकको परिचय बनाएका सूर्य खड्का र गीतकार नारायण कँडेलको जोडीले देशप्रेममा आधारित ’उतै मर्न मन छ’ गीतको म्युजिक भिडियो सार्बजनिक गरेका छन् । उनीहरुले ’यस्तै छ कहानी परदेशीको’ भाग एक र दुईको सफलतापछि भाग तीन ’उतै मर्न मन छ’ बजारमा ल्याएका हुन् ।

गीतकार कँडेलको शब्द र गायक खड्काको स्वरमा निर्मित ’उतै मर्न मन छ’ मा देशको माटो, परिवार र आफ्नो रस्ती-बस्तीप्रतिको अगाढ प्रेम छचल्किएको छ । देशमा रोजगारीका अवसर नहुँदा होनहार युवाहरु विदेशिनु परेको पीडालाई गीतमा सरल ढंगले उतारिएको छ । राज्यले शिक्षित बेरोजगार युवाहरुको श्रम र पसिना देशमै उपयोग गर्ने वातावरण बनाउन नसक्दा क्षितिजपारिको विरानो बस्तीमा भौंतारिनु परेको तितो यथार्थलाई गीतमा श्रब्य-दृश्यमार्फत चित्रण गरिएको छ ।

आफ्नो मुलुक सप्रेको हेर्ने उत्कट चाहनालाई मनभरि गुम्साउँदै घरपरिवारबाट टाढिएर वाध्यतावश विदेशमा श्रम बेच्नुपर्दाको आत्मग्लानी, छटपटी र हिनताबोधरुपी भाव गीतमा केन्द्रीय धार बनेर बगेको पाईन्छ भने अर्कोतिर देश बनेको हेर्न पाईदैन कि भन्ने वर्तमान पुस्ताकै प्रतिनिधिमुलक चिन्ता र निराशालाई गीतमार्फत उजागर गर्न खोजिएको छ ।

समग्रमा, देशको बागडोर सम्हाल्नेहरुले देश बनाउन सकेनन् आफै र आफ्नालाई मात्रै झुपडीबाट महलमा पुर्‍याए, वर्तमान पुस्ताले भविष्य खोज्न विदेश भासिने नियति भोग्नुपरे पनि भावी पुस्ताले यस्तो नियति भोग्न नपरोस् भन्ने सन्देश गीतले दिन खोजेको छ ।

’यस्तै छ कहानी परदेशीको’ पहिलो र दोस्रो शृङ्खलापछि गायक खड्का र गीतकार कँडेलको जोडीले ’उतै मर्न मन छ’ तेस्रो कोसेलीका रुपमा बजारमा ल्याएका हुन् । लोकलयमा आधारित जुन धर्तीमा जन्मिए, उतै मर्न मन छ, मलाई मेरो देशले पो फर्की कहिले भन्छ’ भन्ने थेगोमा बनेको गीत संवादसहित १६ मिनेट ५९ सेकेण्डको रहेको छ । देशप्रेम, बूढ्यौली लागेर थलिएका बाबुआमा, लालाबालासंग टाढिएर विदेशिनुपर्दाको दिनचर्या भित्रको ब्यस्तता र चटारोमा जीवनको ऊर्जाशील समय खर्चिनुपरेको कारुणिक सेरोफेरोमा गीत केन्द्रित छ ।

’उतै मर्न मन छ’ मा प्रकाश भट्टको छायाङ्कन र निर्देशन रहेको छ भने विष्णु शर्माको सम्पादन, संगीत संयोजन विनोद पराजुली र संवाद रेशम सापकोटाको रहेको छ । फिचरिङमा स्वयम गीतकार कँडेलको अभिनय देख्न सकिन्छ ।

गायक खड्का राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, जापान शाखाका अध्यक्ष हुन् भने गीतकार कँडेल शाखाका प्रथम उपाध्यक्ष हुन् ।***

तपाईको प्रतिक्रिया