Deneme Bonusu Veren Siteler
शनिबार, आश्विन १९, २०८१
Saturday, October 5, 2024

काठमाडौं – विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले नेपाललाई कोरोना भाइरस (कोभिड-१९)को अति उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको छ । जेनेभास्थित मुख्यालयमा पत्रकार सम्मेलन गर्दै डब्लुएचओले नेपालसहित पाँच देशलाई उच्च जोखिम भएको मुलुकको सूचीमा राखेको हो ।

नेपालसहित भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान कोरोनाको उच्च जोखिममा छन् । डव्लुएचओले यसअघि चीनलाई मात्रै अति उच्च जोखिममा राखेको थियो । डब्लूएचओले भाइरसको संक्रमण चीनबाट बाँकी विश्वतर्फ तीव्र रूपमा फैलिरहेको भन्दै चिन्ता व्यक्त गरेको छ ।

कोरोनाले विश्वव्यापी महामारीको रूप लिँदै गएकाले ढुक्क नबस्न डाब्लुएचओ प्रमुख डा. टेडरोस गेब्रिएसुसले सबै मुलुकलाई अपिल गरेका छन् । ‘कुनै देशले कोरोना भित्रिँदैन भनेर बसे गम्भीर गल्ती हुन्छ,’ उनले भने, ‘सबै देशले मौसमलाई ध्यान दिँदै आइसोलेसन युनिट, औषधि र अन्य स्वास्थ्य उपकरणको उचित प्रबन्ध गर्नू ।’

कोरोना संक्रमित देशबाट निर्बाध नेपाल प्रवेश
कोरोना भाइरस भनेर चिनिने ‘कोभिड-१९’ को संक्रमण विश्वका विभिन्न मुलुकमा फैलिने क्रम तीव्र भइरहेका बेला नेपालले संक्रमण फैलिएका देशबाट फर्किनेलाई बिनारोकतोक भित्र्याइरहेको छ ।

डब्लूएचओले विश्वका ५० भन्दा धेरै देशमा यसको संक्रमण देखिएको बताइरहँदा ती देशबाट नेपाल भित्रिनेलाई रोक लगाउने वा विमानस्थलमा परीक्षणमा कडाइ गर्ने सम्बन्धमा नेपाल सरकारको कुनै तयारी देखिँदैन । नेपाल कोरोनाको उच्च जोखिममा रहे पनि पूर्वाधारलगायतका तयारी सुस्त छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने संक्रमणको सम्भावित स्वरूप, परीक्षण, निदानलगायतमा सूक्ष्म अध्ययन गरिरहेको जनाएको छ । गृह मन्त्रालयका अधिकारीहरू चीन, भारत, युरोप, अमेरिकाजस्ता सम्पन्न देशबाट स्वास्थ्य जाँचका कयौं प्रक्रिया पार गरेर पर्यटक आउने हुँदा आत्तिनु नपर्ने बताउँछन् । प्रवक्ता केदारनाथ शर्माले विकसित मुलुकबाट भित्रिने पर्यटक पूर्ण चेकजाँच भएर आउने दावी गरे ।

नेपालमा एक जनालाई संक्रमण
नेपाल पर्यटन बोर्डले कोराना भाइरसबारे पर्यटकलाई लक्षित गर्दै जारी गरेको सूचनामा नेपालमा एक जनालाई मात्रै भाइरसको संक्रमण देखिएको र उनी पूर्ण रूपमा निको भएर घर फर्किसकेको उल्लेख छ ।

बोर्डले चीनको वुहान प्रान्तबाट उद्धार गरेर ल्याइएका १ सय ७५ लाई आइसोलेसन गरेर विशेष निगरानीमा राखिएको र उनीहरूमा पनि भाइरसको कुनै संक्रमण अहिलेसम्म नदेखिएको जनाएको छ । स्वास्थ्य मन्त्रालयले विमानस्थल र अन्य सीमा नाकामा पनि भाइरस संक्रमितलाई निगरानी गर्न विशेष समूह परिचालन गरेको जनाउँदै बोर्डले पूर्वनिर्धारित नेपाल भ्रमण रद्द नगर्न वा नेपाल गन्तव्यको विकल्प नरोज्न आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया