आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – आफूले प्रेम गर्दै आएको युवतीले धोका दिएर अर्कैसँग विवाहको तयारी गरेपछि इटहरीका एक युवाले मंगलबार नदीमा फाल हानेका छन् । इटहरीमा सेकुवा कर्नर सञ्चालन गर्दै आएका ३१ वर्षीय राजेश बानियाँले आफ्नी प्रेमिकाले अर्कै केटासँग विवाहकोे लागि ‘इन्गेजमेन्ट’ गरेपछि फेसबुकमार्फत जानकारी दिएर यस्तो कदम चालेका प्रहरीले जानकारी दिएको छ ।

इटहरी–१०का राजेशले आफ्नो फेसबुक वालमा ‘दश वर्षभन्दा बढी समयदेखि मसँग सम्बन्ध राखेर विनाकारण अचानक तिमीले अर्को केटासँग बिहे गर्न लागेको देखेर बाँच्ने दिन अन्तिम हो जस्तो लाग्यो । केही छैन । आशा छ, तिमीले संसारका सबै खुसी पाउनेछौ । गुडबाइ इसु, आशा छ तिमीले मलाई माफ गर्नेछौ’ भन्ने लेखेका छन् ।

मंगलबार अपरान्ह अन्दाजी पाँच बजेतिर राजेश बानियाँले सुनसरी बराहक्षेत्रस्थित सप्तकोसी नदीमा हामफालेका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ । बानियाँले हाम फालेको स्थाननजिकै सडकमा उनले प्रयोग गर्दै आएको ‘को. ३७ प ७’ नम्बरको बुलेट मोटरसाइकल फेलापरेको बताइएको छ । नदीमा फालहानेका राजेशको अवस्थाबारे तत्काल खोजतलास गर्दा कुनै जानकारी नमिलेको र बुधबार बिहानबाट विशेष तवरले खोजी कार्य गरिने प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया