शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

टोकियो – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले आगामी मार्च २ देखि जापानको नारितामा सीधा उडान गर्ने भएको छ ।

नेपाल वायुसेवा निगम स्रोतका अनुसार मार्च २ देखि सुरु गर्ने भनिएको काठमाडौं-नारिता सीधा उडान तैयारी लगायतका विविध कारणवश ३० तारिख सरेको भन्ने विभिन्न सञ्चारमाध्यममा आएको समाचारमा सत्यता नभएकोले भ्रममा नपर्न अनुरोध गरिएको छ।

निगमका एक अधिकारीले बुधबार एकाबिहानै समुद्रपारिसंग कुरा गर्दै भने – ‘उडान मार्च २ देखि नै सुरु हुन्छ, पोष्टपोन्ड भएको छैन, कोही भ्रममा नपर्नुहोला ।’

निगमको एयरबस वाइड बडी जहाजमार्फत नारितामा साताको तीन दिन सोमबार, बुधबार र शुक्रबार सिधा उडान प्रारम्भ गर्ने निगमले जानाकारी गराएको छ ।
निगमको जहाज स्थानीय समय राति १:२५ बजे त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल काठमाडौंदेखि उडान भई बिहान ११ बजे नारिता अवतरण हुने र सोही दिन अपरान्ह १ बजे नारिताबाट प्रस्थान गरी साँझ ६:२५ बजे काठमाडौंमा अवतरण गर्ने कार्यतालिका छ । हालका लागि प्रवर्द्धनात्मक भाडादर काठमाडौंबाट नारिताका लागि एकतर्फी रु ३७ हजार र दुईतर्फी भाडा रु ७३ हजार निर्धारण गरिएको छ । यसका साथै बिजनेस क्लासमा यात्रा गर्नेले प्रति व्यक्ति २५-२५ किलोका दुई ब्यागेज र इकोनोमी क्लासमा यात्रा गर्नेले प्रतिव्यक्ति २३-२३ किलोका दुई ब्यागेजको सुविधा पाउने भएकाछन् ।

नारिताको उडान प्रारम्भ भएपछि टोकियो र वरपरका यात्रुहरुलाई सुविधा हुनेछ भने सीधा उडानले ट्रान्जिटको झन्झट समाप्त हुनेछ । नारिता उडानका लागि यात्रुको उत्साहबर्द्धक बुकिङ भइरहेको निगमको बाणिज्य बिभागले जनाएको छ । मुख्य पर्यटकीय मौसम भएकाले पनि यात्रुको आवतजावत राम्रै हुने निगमको अपेक्षा छ ।

नेपाल भ्रमण वर्षको सन्दर्भमा काठमाडौं-टोकियो सीधा उडानको प्रारम्भ हुनुले नेपाल भ्रमणमा जाने जापानी पर्यटकहरु बृद्धि हुने अपेक्षा गर्न सकिन्छ । अबको केही सातापछि सुरु हुने काठमाडौं-नारिता सीधा उडानको खबरले जापानबासी नेपालीहरुमा उत्साहको सञ्चार त गरेको छ नै दुईदेशको राजधानीबीच हुने सीधा हवाईसम्पर्कले दीर्घकालिनरुपमा बहुआयामिक महत्व राख्ने भएकोले जापानीहरुको बिश्वास गुम्न नदिने गरी यसको कुशल ब्यवस्थापनमा सम्बन्धित सरोकारवला निकायको उच्च सावधानी हुनुपर्ने देखिन्छ ।***

तपाईको प्रतिक्रिया