बिहिबार, बैशाख २०, २०८१
Thursday, May 2, 2024

काठमाडौं – नेपाली कांग्रेसले आफ्ना नेता विजय गच्छदारमाथि राजनीतिक प्रतिशोध साँध्न भ्रष्टाचार मुद्दा लगाइएको भन्दै दोस्रो दिन शुक्रबार पनि संसद् अवरोध गरेको छ। ललिता निवास प्रकरणमा गच्छदारसहित एक सय ७५ जनाविरुद्ध अख्तियारले मुद्दा दायर गरेपछि कांग्रेस आन्दोलित भएको छ।

भ्रष्टाचार मुद्दा लागेपछि गच्छदारको सांसद पद निलम्बनमा परेको छ। उनको राजनीतिक भविष्यबारे विभिन्न टिप्पणी हुन थालेका छन्। संवैधानिक अंगले गरेको निर्णयलाई लिएर प्रमुख विपक्षी कांग्रेसले संसद् अवरुद्ध गरेपछि संसदीय परम्परा, लोकतान्त्रिक व्यवस्था र संवैधानिक अंगको तटस्थता, निष्पक्षतामाथि प्रश्न उठेका छन्।

‘कांग्रेसले संसदीय प्रक्रिया र लोकतान्त्रिक तौरतरिकासंग अमिल्दो काम गरेको पूर्वसभामुख दमननाथ ढुंगानाले प्रतिक्रिया दिएका छन् । संवैधानिक अंगले गरेका काम ठिक-बेठिक भन्ने विषय फरक भए पनि अख्तियारको निर्णयलाई लिएर कांग्रेसले संसद् अवरोध गर्न नमिल्ने ढुंगानाको भनाइ छ। अख्तियारको निर्णयमा विमति भए अदालत र जनतामा जानुपर्ने ढुंगानाको सुझाव छ।

तत्कालीन मन्त्री गच्छदारसहितका राजनीतिक र प्रशासनिक पद धारण गरेका व्यक्तिको मिलेमतोमा ललिता निवासको सरकारी जग्गा व्यक्ति तथा संस्थाको नाममा कायम गरी हिनामिना गरेको आरोप छ।

उता कांग्रेस नेता मीनबहादुर विश्वकर्माले कांग्रेसले यसलाई राजनीतिक र कानुनी मुद्दाका रूपमा लिएकोले आफुहरु कानुनी रूपमा अदालत जाने र राजनीतिक विषयमा सडक र सदनमा लड्ने बताए । अख्तियारबाट त्रुटि सच्याउने प्रतिबद्धता आयो भने संसद्को अवरोध फुक्ने उनको भनाई छ । कांग्रेस अवरोधका कारण शुक्रबार आधा घण्टाका लागि स्थगित संसद् बैठक सूचना टाँसेर आइतबारसम्म स्थगित भएको छ।

‘सरकारको दबाब र प्रभावमा मुद्दा चलायो भनेर आरोप लगाउने दलले संवैधानिक निकायको निर्णय सच्याउ भन्नु प्रत्यक्ष हस्तक्षेप भएन र ?

नागरिक अगुवा कृष्ण पहाडी गच्छदारको बचाउमा कांग्रेसले संसद अवरोध गर्नु निन्दनीय र दुर्भाग्यपूर्ण भएको बताउँछन्। तत्कालीन प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई उन्मुक्ति दिने अख्तियारको नियतमाथि शंका पैदा भए पनि कांग्रेसले संसद् अवरोध गर्नु दुःखद भएको पहाडीको भनाइ छ। ‘तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईमाथि पनि मुद्दा चलाउन कांग्रेसले आग्रह गरे स्वागतयोग्य छ। तर भ्रष्टाचार मामिलामा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा बदनाम छवि बनाएका गच्छदारका पक्षमा कांग्रेसले दबाब सिर्जना गर्नु कांग्रेसका लागि आत्मघाती हुनेछ,’ पहाडीले भने।

संसद् सचिवालयले कांग्रेस संसदीय दलका उपनेता गच्छदारको सांसद पद निलम्बनमा परेको जानकारी दिएको छ। सचिवालयले शुक्रबार विज्ञप्ति जारी गरी भ्रष्टाचार निवारण ऐनअनुसार गच्छदारको पद निलम्बनमा परेको जानकारी दिएको हो।***

तपाईको प्रतिक्रिया