शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले भ्रष्ट्राचार मुद्दामा दोषी देखिए जो कोहीलाई पनि कारवाही हुनुपर्ने बताएका छन् । नेपाली काँग्रेस नगरसमिति कालिका नगरपालिकाले शुक्रबार चितवनमा आयोजना गरेको कार्यकर्ता भेटघाट तथा वनभोज कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले भ्रष्ट्राचार मुद्दामा दोषी सबैलाई मेरो तेरो नभनी कारवाही गर्नुपर्ने बताए ।

सरकारले ललिता निवासको जग्गाको विषयमा काँग्रेस उपसभापतिलाई मुद्दा दर्ता गरेर तत्कालीन प्रधानमन्त्रीलाई जोगाउन खोजेको उनको आरोप थियो । उनले भने – ‘ललिता निवासको जग्गाको विषयमा फाइल उठाएर लैजाने मन्त्रीलाई मुद्दा लाग्ने र क्याबिनेटबाट पास गराउने प्रधानमन्त्रीलाई कारवाही नहुनु कस्तो बिडम्बना हो ।’

उनले जग्गा फिर्ता गर्ने सर्तमा नेकपा महासचिव विष्णु पौडेलका छोरा नवीनलाई छाड्न नमिल्ने बताए । ‘अब सजिलो छ । कसैलाई चोर्न मन लागेको छ भने चोरे हुन्छ, पहिला चोर्ने, थाहा पाए फिर्ता गर्ने, नपाए आफ्नै भयो’ नेता थापाले भने ‘चोरेको थाहा पाए विष्णु विष्णु भन्नुस्, चोरीको सामान फर्काइदिनुस्, सक्कियो । कसलाई के लुट्न मन लागेको छ, लुट्नु भए हुन्छ ।’

उनले अहिलेको सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप लगाए । सरकारले जनताको बोल्न पाउने अधिकार खोसेर जनभावना विपरीत काम गर्न खोजेको आरोप थापाले लगाए ।
फरक प्रसंगमा बोल्दै उनले पार्टीभित्रको कतिपय प्रवृति बदल्दै नेतृत्वको अनुहार पनि बदल्नु आवश्यक रहेको बताए । जनताले अहिले संगठित काँग्रेस खोजेको भन्दै उनले अब जनताको पक्षमा लाग्नुपर्ने समय आएको बताए ।***

तपाईको प्रतिक्रिया