शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रतिनिधिसभाको उपसभामुख नपाउने लगभग भएको छ । सत्तारुढ नेकपाको शीर्ष नेतृत्व तहमै छलफल भएर राजपालाई उपसभामुख दिन लागिएको एक नेताले बताए ।

प्रतिनिधिसभामा नेकपाको बहुमत भएकाले उसले चाहेको व्यक्ति उपसभामुख हुनेछ । सभामुख नेकपाकै सांसद चयन भएपछि उपसभामुख फरक पार्टीबाट चयन गर्नुपर्ने संविधानको व्यवस्था छ । नेकपाको पहिलो रोजाई राष्ट्रिय जनमोर्चा थियो । राजमोको तर्फबाट संसदमा दुर्गा पौडेल एक जनामात्र सांसद भएकाले उसले उपसभामुख अश्वीकार गरेपछि नेकपाको दोस्रो रोजाइमा राजपा परेको हो ।

प्रमुख विपक्षी नेपाली कांग्रेस र समाजवादी पार्टीलाई उपसभामुख दिन नेकपा चाहदैन । उपसभामुख संवैधानिक परिषदको सदस्य समेत हुने भएकाले नेकपाले ती दललाई दिँदा अप्ठेरो पार्ने बुझेर तेस्रो पक्ष रोजेको हुन सक्ने बताइन्छ ।

संसदमा रहेकामध्ये एक एक सिट रहेका राप्रपा र नेपाल मजदुर किसान पार्टीका पुरुष सांसद रहेकाले उपसभामुखमा उनीहरुको संभावना छैन । संविधानले सभामुख र उपसभामुखमध्ये एक जना महिला हुनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार अब उपसभामुख महिला नै चयन गर्नुपर्ने संवैधानिक बाध्यता छ ।

प्रदेश २ को राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेका नेकपा र राजपाबीच दूरी नजिकिएको छ । राजपा अध्यक्ष महन्थ ठाकुरले यसबीचमा प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष प्रचण्डसंग समेत भेट गरेका छन् । राजपाबाट उपसभामुखमा चन्दा चौधरीको बढी सम्भावना छ । उनी महन्थ ठाकुर निकट मानिन्छन् । ***

तपाईको प्रतिक्रिया