आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपालमा पछिल्लो जनगणनाले पुरुषभन्दा महिलाको संख्या बढी देखाए पनि पछिल्ला वर्ष छोरी जन्मिने क्रम घटेको बताइएको छ । यो अवस्था रहिरहेमा सामाजिक संरचना जोखिममा पर्न सक्ने विज्ञहरू बताउँछन् ।

देशका विभिन्न स्थानमा त्यहाँका स्थानीय र प्रदेश सरकारले छोरी जन्मिए विभिन्न सुविधा दिने कार्यक्रमहरू ल्याएका छन् । त्यो नीतिले ती स्थानहरूमा छोरी जन्मिने क्रम घटिरहेको र छोरीको अवस्था दयनीय रहेको पुष्टि गर्ने महिला अधिकारकर्मीहरू बताउँछन् ।

तर यस विषयमा हालसम्म संघीय सरकारले कुनै किसिमको अध्ययन-अनुसन्धान र कारबाही प्रक्रिया नथालेको सरकारी अधिकारीको भनाइ छ ।

काठमाडौं बस्ने सबिना (नाम परिवर्तन) की आठ वर्षिया एक छोरी छन् । दोस्रो गर्भ रहँदा फेरि छोरी नै भएको थाहा पाएपछि उनलाई विभिन्न दबाब आउन थाले । त्यसपछि उनले गर्भमा भएकी छोरी फ्याँकिन् । अहिले पनि उनलाई हरेक दिन सबैतिरबाट छोरा पाउने दबाब आईरहन्छ ।

उनी भन्छिन् – ’मेरी बहिनीले पहिलो सन्तानको रूपमा छोरो पाएकी छन् । उनलाई दोस्रो सन्तान जन्माउने कुरा समेत कसैले गरेका छैनन् । छोरी जन्माउने दबाब त आएकै छैन ।’
त्यस्तै नेपालगञ्जकी नाम बताउन नचाहने अर्की महिला पनि छोरा जन्माउनकै निम्ति गर्भपतन गराएको बताउँछिन् ।

उनको भनाइ छ, ’तीन छोरी छन् । छोरो जन्माउन भनेर पर्खेको, गर्भमा फेरि पनि छोरी आइन् । एउटा त्यसै खेर गयो, अर्को गर्भपतन गरें ।’

कानुन अनुसार विशेष अवस्थामा बाहेक १२ हप्तापछि भ्रुणको लिंग पहिचान गरेर गर्भपतन गराउन पाइँदैन । तर पनि पितृसत्तात्मक सोच, धार्मिक, साँस्कृतिक र सामाजिक लगायतका कारण लिंग पहिचानपछि छोरी भएमा गर्भपतन गर्ने क्रम पछिल्लो समय बढ्दै गएको जानकारहरूको भनाइ छ ।

यसले महिला पुरुषको जनसांख्यिक अन्तर बढाउने चिन्ता उच्च रहेको महिलाको क्षेत्रमा काम गर्नेहरू बताउँछन् ।राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कमा समग्र जनसंख्या हेर्दा महिलाको संख्या बढी थियो । तर १४ वर्ष मुनिको संख्यामा छोरीभन्दा छोराको संख्या बढी थियो ।

महिला अधिकारको क्षेत्रमा सक्रिय लैंगिक मामिलाकी जानकार सरू जोशी श्रेष्ठका अनुसार नेपालमा छोरी जन्मिन कम भएको कुरा आजभन्दा २० वर्ष पहिले नै उठिसकेको थियो । तर यसमा खासै अनुसन्धान भएको थिएन । अहिले पनि विभिन्न गाउँ तथा नगरपालिकामा छोरीहरू जन्मिने क्रम कम भएको पाइएको छ । यो विषयमा सरकारले गम्भीर भएर आवश्यक कदम चाल्नुपर्ने उनी बताउँछिन् ।***

तपाईको प्रतिक्रिया