आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – प्रहरीले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका दुई जना कार्यकर्तालाई बर्दियामा पक्राउ गरेको छ । कालीकोट खाडाचक्रमणी नगरपालिका-२ का वर्ष २८ को रमेश विक र सन्जु चौधरीलाई बासगढीबाट प्रहरीले पक्राउ गरेको हो ।

विष्फोटक पदार्थसम्बन्धी कसुर मुद्दामा विक फरार रहेकाले इलाका प्रहरी कार्यालय मोतिपुरबाट प्रहरी निरीक्षक इन्द्रजीत सुनारको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको प्रहरीद्वारा विज्ञप्तीमा उल्लेख गरेको छ । उनीहरुबाट प्रहरीले ५० थान पर्चा पम्पलेट पनि बरामद गरेको छ । प्रहरी नियन्त्रणमा रहेका विकलाई म्याद थप गरिएको र चौधरीलाई आवश्यक अनुसन्धान भईरहेको एसपी राजेशनाथ वास्तोलाले जानकारी दिएका छन् ।

सरकारले ०७५ फागुन २८ मा गतिविधिमा प्रतिबन्ध लगाउँदै धमाधम पक्राउ गर्न थालेपछि चन्द समूहका अधिकांश नेता-कार्यकर्ता भूमिगत छन् । प्रतिबन्धको ८ महिनामा केन्द्रदेखि जिल्लास्तरीय पदाधिकारी तहका ७२ सहित एक हजार १५० नेता–कार्यकर्ता पक्राउ परिसकेको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । यस बीचमा दलित मुक्ति मोर्चाका केन्द्रीय अध्यक्ष डम्बर विक, युवा संगठन केन्द्रीय अध्यक्ष बबिल केसी, नेपाल महिला संघ (क्रान्तिकारी) की महासचिव धीरेन्द्रा उपाध्यायलगायतका केन्द्रीय सदस्य पक्राउ परेका छन् ।

सरकारले पक्राउ गर्न थालेपछि चन्द समूहका कतिपय नेता–कार्यकता अर्को राजनीतिक दलमा समेत प्रवेश गरिरहेका छन् । ०७६ जेठ १९ मा पोलिटब्युरो सदस्य तथा पूर्व राज्यमन्त्री पदम राई सत्तारूढ नेकपामा प्रवेश गरेका छन् । प्रतिबन्धपछि ५ सय ९६ जनाले पार्टी छाडेको प्रहरीको तथ्याङ्क छ । सुरक्षा स्रोतका अनुसार महासचिव चन्दसहित ५१९ जनाको नाम प्रहरीले फरार सूचीमा राखेको छ । हिंसात्मक गतिविधिमा लागेको आरोपमा चन्द समूहका नेता–कार्यकर्ताविरुद्ध देशभरका अदालतमा एक हजार ८८ मुद्दा दर्ता छन् । पक्राउ परेकामध्ये ६१ जना सोधपुछपछि छुटेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ ।

८३४ जनालाई अदालतले धरौटी र साधारण तारेखमा छाडेको छ । १३७ जना पुर्पक्षका लागि कारागारमा र ८८ जना अनुसन्धानका क्रममा प्रहरी हिरासतमा छन् । गतिविधिमा प्रतिबन्धपछि प्रदेश १ बाट १५०, प्रदेश २ बाट ५९, प्रदेश ३ बाट १०४, गण्डकी प्रदेशबाट २१७, प्रदेश ५ बाट २२४, कर्णाली प्रदेशबाट ८७, सुदूरपश्चिम प्रदेशबाट १३८ र उपत्यकाबाट १७१ जना नेता–कार्यकर्ता पक्राउ परिसकेको प्रहरी स्रोतले जनाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले चन्द समूहबाट एम–१६, एसएमजी, एलएमजी, एसएलआरसहित ४१ थान शक्तिशाली हतियार र एक हजार २५६ राउण्ड गोली बरामद गरेको जनाएको छ ।

केन्द्रीयस्तरका नेताहरू पक्राउ पर्न थालेपछि महासचिव चन्दले स्थायी समिति र पोलिटब्युरो नै भङ्ग गरेका छन् । त्यसको ठाउँमा पछिल्लो पटक ५ सदस्यीय सचिवालय र ३५ सदस्यीय केन्द्रीय समिति गठन गरिएको छ । सचिवालय सदस्य वलीले पुर्पक्षका क्रममा नख्खु जेलमा छन् । आठौं विस्तारित बैठकबाट केन्द्रीय सदस्यमा चुनिएका ४ जनालाई पनि प्रहरीले पक्राउ गरिसकेको छ ।

चन्दसहित प्रवक्ता खड्गबहादुर विश्वकर्मा, सन्तोष बुढा र धर्मेन्द्र बाँस्तोला प्रहरीको फरार सूचीमा छन् । बुढा नेकपा पूर्वी कमान्ड इन्चार्ज हुन् । स्थायी समिति सदस्य वली पक्राउ परेपछि मध्य कमान्ड प्रवक्ता विश्वकर्माले नै लिएका छन् । पश्चिम कमान्ड इन्चार्ज बाँस्तोला हुन् ।

शान्ति सुरक्षामा खलल पु¥याउने जुनसुकै समूहलाई पनि कारबाहीको दायरामा ल्याइने प्रहरी प्रवक्ता विश्वराज पोखरेल बताउँछन् । गत कात्तिक २९ गते विज्ञप्ति जारी गर्दै चन्दले आफ्नो पार्टीमाथि धरपकड नगर्न प्रहरी र सशस्त्रलाई चेतावनी दिएका थिए । मंसिर १४ मा उपनिर्वाचनमा भाग नलिन सर्वसाधारणलाई आग्रह गरेका चन्दले सरकारमा भएका दलका कार्यक्रममा पनि आफूहरूले प्रतिबन्ध लगाएको घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया