काठमाडौं – सामाजिक संजालको प्रयोग बढेसँगै साइबर क्राइमका घट्ना पनि बढ्दै गएका छन् । तीन महिनामा झन्डै पाँच उजुरी परेका छन् ।
फेसबुक, ट्वीटर, इस्ट्राग्राम, भाइबर, इमोलगायतका सामाजिक सञ्जालबाट हुने अपराध बढेको नेपाल प्रहरीको साइबर क्राइम ब्यूरोले जनाएको छ । ब्यूरोका अनुसार, असोजयता साइबर क्राइमका चार सय ९५ उजुरी परेका छन् । साउनमा एक सय ४०, भदौमा दुई सय १५ र असोजमा एक सय ४० वटा उजुरी परेको ब्यूरोले जनाएको छ। जसमध्ये १५ जनाविरुद्ध मुद्दा नै दर्ता भएको छ ।
गत आर्थिक वर्ष प्रहरीमा तीन सय ५७ वटा उजुरी परेका थिए । यो आर्थिक वर्षको तीन महिनामै गत वर्षभरीभन्दा बढी उजुरी आएको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए । साइबर अपराधमा १८ वर्षमूनिका बालबालिका पनि पीडित भएको पाइएको छ । यो वर्ष १८ वर्षमूनिका १९ बालबालिकाको उजुरी ब्यूरोमा परेको एसएसपी अर्यालले बताए ।
उनका अनुसार, अहिले इमेल गरेर धम्की दिने तथा नगद माग्ने, सामाजिक सञ्जालमा अन्य व्यक्तिको नाम तथा तस्बीर प्रयोग गरेर प्रोफाइल पेज खोलेर बेइञ्जत गर्ने, नग्न तस्बीरमा व्यक्तिको मुहार जोडी सामाजिक संजालमा राखिदिने, अश्लिल सामाग्री पठाउनेलगायतका अपराध भइरहेका छन् । त्यस्तै, धम्कीपूर्ण एसएमएस पठाउने, एसएमएसमार्फत जुवा, लट्रि सञ्चालन गर्ने, सरकारी तथा अन्य सस्थाको वेभसाइट ह्याकिङ गर्ने गरेको पाइएको ब्यूरोले जनाएको छ ।
साइबर अपराध के हो ?
विद्युतीय उपकरण मोबाइल, कम्पयुटरका नेटर्वक प्रयोग गरी गरिने कुनै पनि अपराधिक कार्य साइबर अपराध हो । इन्टरनेटको प्रयोगबाट हिंसा फैलाउने, चरित्रहत्यालगायतका विभिन्न गतिविधि पनि साइबर अपराध मानिन्छ ।
नेपालमा सबैभन्दा बढी साइबर अपराध सामाजिक सञ्जालबाट हुने गरेको पाइएको छ । सामाजिक सञ्जालमा जति अपराध हुन्छन्, त्यति सबै प्रहरी कहाँ नआउने गरेको प्रहरी बताउँछन् । अहिले साइबर ब्यूरोमा दिनहुँ १० भन्दा बढी उजुरी आउने गरेको ब्यूरोले जनाएको छ । काठमाडौं जिल्ला अदालतमा मात्र साइबरसम्बन्धी मुद्धा दर्ता गरिँदै आएको छ । त्यसैले पनि उजुरी कमै आउने गरेको जनाएको छ ।