शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले अर्को महिनादेखि चीनको ग्वोञ्जाओ उडान गर्ने तयारी गरेको छ ।

लामो समयको प्रयासपछि निगमले ग्वोञ्जाओ उडान अनुमति पाउने सुनिश्चित भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ । मन्त्रालयको हवाई उद्योग व्यवस्थापन महाशाखाका अनुसार हालै चीन र नेपालबीच भएको हवाई सम्झौताको दौरानमा भएको दुई पक्षीय समझदारीअनुरुप निगमको ग्वोञ्जाओ उडान सुनिश्चित भएको हो ।

‘निगमको जहाज ग्वोञ्जाओ उड्ने लगभग निश्चित भएको छ, सम्भवतः मंसिर महिनादेखि उडान सुरू हुनेछ,’ मन्त्रालयका एक अधिकारीले भने। निगमको सेफ्टी अडिटपछि मात्रै उडान अनुमति दिने चिनियाँ पक्षको सर्त थियो । त्यसका लागि एक प्राविधिक टोली कात्तिक महिनाभित्रै आउनेछ । तर, चीनमा भएको हवाई सम्झौताका वेला चीनको नागरिक उड्डयन प्रशासन र नेपालका अधिकारीबीच छलफल भई आवश्यक कागजात आदान-प्रदान गरी उडान सञ्चालन गर्ने समझदारी बनेको थियो ।

त्यसअनुसार, निगमले आन्तरिकरूपमा कागजात चिनियाँ सिभिल एभिएसनलाई पठाएको र त्यसका आधारमा ग्वोञ्जाओ उडानका लागि ‘स्लट’ पाउने बताइएको छ ।

यसैबीच निगमले चीनको राजधानी बेइजिङ र साङ्घाई उडानका लागि चिनियाँ नियामक निकायसँग पहल थालेको छ । निगमका प्रवक्ता गणेशबहादुर चन्दले बेइजिङ र साङ्घाई उडानका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार उक्त दुई गन्तव्यमा उडान सञ्चालन गर्ने प्रयोजनका लागि चिनियाँ प्राविधिक टोली डिसेम्बर महिनामा नेपाल आएर निगमको सेफ्टी अडिट गर्नेछ। तत्पश्चात् निगमले उडान अनुमति पाउने विश्वास लिइएको छ ।

तपाईको प्रतिक्रिया