शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मङ्सिर १४ को उपनिर्वाचनको उम्मेदवार तय गरेको छ । प्रतिनिधिसभातर्फ निर्वाचन हुने कास्की-२ मा विद्या भट्टराई र प्रदेशसभातर्फ निर्वाचन हुने भक्तपुर-१ (क) मा देवीप्रसाद ढकाल र दाङ- ३(ख) मा नेकपाले विमला वलीलाई उठाउने भएको छ ।बागलुङको प्रदेशसभामा भने नेकपाले राष्ट्रिय जनमोर्चालाई सघाउने निर्णय गरेको छ ।

रिक्त ३ गाउँपालिका अध्यक्ष र १ उपाध्यक्षको उमेदवारी भने सम्बन्धित प्रदेश कमिटीले गर्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । त्यस्तै नेकपा सचिवालयको बैठकले धरान उपमहानगरको मेयर पदमा प्रकाश राईलाई उठाउने निर्णय गरेको छ।
कास्की जिल्ला कमिटीले विद्या भट्टराईको नाम एकल रूपमा सिफारिस गरेको भए पनि प्रदेशले सोमनाथ अधिकारी र राजकाजी गुरूङको नाम पनि थपेको थियो । तर, चुनाव जित्नैपर्ने दबाबमा रहेको नेकपाले अन्ततः दिवंगत मन्त्री रवीन्द्र अधिकारीकी पत्नी भट्टराईलाई उम्मेदवार तय गरेको हो ।
गत फागुन १५ गते ताप्लेजुङको तारेढुङ्गामा हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीको निधन भएपछि कास्की-२ रिक्त हुन पुगेको थियो । मन्त्री अधिकारीको श्रीमती भएकैले मात्रै उनलाई टिकट दिन लागिएको नभइ पार्टीमा उनको योगदान हेरेर मूल्यांकन गरिएको नेकपाका नेताहरु बताउँछन् ।
त्रिभुवन विश्वविद्यालयकी उपप्राध्यापकसमेत रहेकी भट्टराई माले-एमाले विभाजनताका तत्कालीन माले अखिलमा छोटो अवधिका लागि सचिवको भूमिकासमेत निर्वाह गरेकी थिइन् । गर्भपतन, प्रजनन् स्वास्थ्यसम्बन्धी अनुसन्धाता रहेकी भट्टराईले समाजशास्त्रमा एमफिल गरेकी छन् । रवीन्द्र अधिकारीसंग विवाह गरेपछि भने उनको राजनीतिक भूमिका केही ओझेल परेको थियो । तथापि उनी महिला संघमा पनि केही समय सक्रिय रहिन् ।
कास्की-२ गत निर्वाचनमा नेकपाले ८ हजार ५सय ४६ मतान्तरले चुनाव जितेको ठाउँ हो त्यो । गत निर्वाचनमा वाम गठबन्धनका लागि उम्मेदवार बनेका तत्कालीन एमालेका नेता रवीन्द्र अधिकारीले २७ हजार २ सय ७ मत ल्याएका थिए भने निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका देवराज चालिसेले १८ हजार ६ सय ६१ मत ल्याएका थिए । निर्वाचनमा दसजना प्रतिस्पर्धी थिए तर चालिसेबाहेक अरूको जमानत पनि जोगिएन ।
उक्त निर्वाचन क्षेत्रमा तत्कालीन नेकपा एमालेले २०६४, २०७० र २०७४ सालमा भएको निर्वाचनमा विजयी हासिल गरेको थियो ।
सचिवालय निकट स्रोतले जानकारी दिएअनुसार मंसिर १४ को उपनिर्वाचनमा नेकपा जित्नैपर्ने दबाबमा छ । पार्टीको मात्रै नभइ सरकारको लोकप्रियता मापनसंग पनि जोडिएकाले नेकपाले तलका कमिटीबाट जित्ने उम्मेदवार सिफारिस गर्न जोड दिएको थियो ।
आसन्न निर्वाचनमा बागलुङमा नेकपाले चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेको छ । यसअघि पनि वाम गठबन्धन र राजमोबीच तालमेल भएको थियो । गठबन्धनबाट राजमोका उमेदवार टेकबहादुर घर्तीले चुनाव जितेका थिए । अहिले पनि दिवंगत घर्तीकै श्रीमतीले टिकट पाउने संभावना रहेको स्रोतको भनाइ छ ।

दाङ- ३ (ख) मा उमेदवार बनेकी विमला दिवंगत उत्तरकुमार वलीकी श्रीमती हुन् । विमला राजनीतिमा भने सक्रिय छैनन् ।
त्यस्तै धरान उपमहानगरको मेयर पदमा पनि चार जना आकांक्षी (विजय राई, प्रकाश राई, चोत्लुङ लिम्बू, विणा काफ्लेको नाम केन्द्रमा पठाइएको थियो । तीमध्ये प्रकाश, विणा, चोत्लुङ जिल्ला कमिटी सदस्य थिए । विजय प्रदेश कमिटी सदस्य थिए ।
तर स्थानीय नेताहरूको प्रकाश बलियो उम्मेदवार भएको रिपोर्टिङ गरेपछि अन्ततः उनैले टिकट पाएका हुन ।***

तपाईको प्रतिक्रिया