आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टाेकियाे – जापानका सम्राट नारुहितोले एउटा भव्य समारोहका बीच राजगद्दी आरोहण गरेका छन् । उनका पिता अकिहितोले राजगद्दी परित्याग गरेपछि ५९ वर्षीय नारुहितो मे महिनामा जापानको सम्राट बनेका थिए । पूर्वसम्राट अकिहितो पनि आफ्ना छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित थिए । विभिन्न परम्परागत विधि सम्पन्न भएपछि बल्ल उनले औपचारिक रूपमा राजगद्दी आरोहण गरेका हुन् ।

जापानमा भर्खरै समुद्री आँधी हगिबिसका कारण धनजनको क्षति भएकाले पीडितहरूप्रति सहानुभूति प्रकट गर्न राजगद्दी आरोहणका अवसरमा आयोजना गरिने शोभायात्रा भने स्थगित गरियो । हगिबिसका कारण जापानमा झन्डै ८० जनाको मृत्यु भएको थियो ।सम्राटहरूले विशेष अवसरमा लगाउने परम्परागत वस्त्र धारण गरेर नारुहितो साढे छ मिटर अग्लो ताकामिकुरा राजगद्दीमा बसेका थिए । त्यहाँबाट उनले एउटा लिखित मन्तव्य वाचन गरे । ‘राष्ट्र र जनताको एकताको प्रतीकका रूपमा आफ्नो उत्तरदायित्व वहन गर्न म संविधानअनुसार काम गर्ने शपथ लिन्छु,’ समाचार संस्था रोएटर्सले उनलाई उद्धृत गरेको छ ।सो अवसरमा उनकी पत्नी साम्राज्ञी मासाको सँगै रहेको अर्को आसनमा बसेकी थिइन् । उनले १२ पत्र भएको वस्त्र लगाएको बताइन्छ । प्रधानमन्त्री शिन्जो आबेले सम्राटलाई बधाई ज्ञापन गर्दै सम्बोधन गरेका थिए । त्यसपछि उनको नेतृत्वमा उपस्थित मानिसहरूले ‘बान्जाई!’ अर्थात् ‘सम्राट चिरायु रहून्!’ भन्दै नारा लगाएका थिए ।उक्त विशेष समारोहमा जापानको राजकीय शक्तिको सङ्केतका रूपमा लिइने प्राचीन तरबार र रत्न पनि राखिएको थियो । उक्त समारोहमा यूकेका राजकुमार चार्ल्स तथा अन्य गन्यमान्य व्यक्ति पनि उपस्थित छन् ।

पूर्वसम्राट अकिहितो पनि आफ्ना छोराको राजगद्दी आरोहण समारोहमा उपस्थित थिए

नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारी पनि जापानी सम्राटको राजगद्दी आरोहण समारोहमा सहाभागी हुन जापान गएकी छन् । सम्राटले विदेशबाट आएका शाही प्रतिनिधिहरूका लागि चियापान आयोजना गर्दैछन् । प्रधानमन्त्रीले सबै अतिथिहरूका लागि रात्रिभोज आयोजना गरेका छन् ।

राजदरबारमा आइपुग्दै सम्राट नारुहितो

जापानमा संवैधानिक राजतन्त्र छ र सम्राटको भूमिका प्राय: आलङ्कारिक हुन्छ । उनले नागरिकहरूसँग अन्तर्क्रिया गर्ने तथा विदेशी पाहुनासँग भेट गर्ने गर्छन् ।

नारुहितोका भाइ युवराज आकिशिनो र युवराज्ञी किको समारोह स्थलमा आइपुग्दै
तपाईको प्रतिक्रिया