आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – जापानी सम्राट् नारुहितोको आज टोकियो स्थित राजदरबारमा एक विशेष समारोहका बीच शुभराज्याभिषेक हुँदैछ । नयाँ सम्राट्लाई बधाई तथा शुभकामना दिन देशविदेशका प्रतिनिधि राजधानी टोकियो आएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारी राज्याभिषेक समारोहमा सहभागी हुन आइतबार राजधानी टोकियो आइपुगेकी छिन् ।

राष्ट्रपतिसहितको प्रतिनिधिमण्डलमा गृहमन्त्री रामबहादुर थापा, परराष्ट्र सचिव शंकरदास वैरागी, जापानका लागि नेपालका राजदूत प्रतिभा राणा, राष्ट्रपति कार्यालयका सचिव डा. हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा. भेषराज अधिकारी तथा परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी एवं जापानी पक्षबाट उच्चपदस्थ पदाधिकारी तथा सञ्चारकर्मी रहेका छन् ।

स्थानीय समयानुसार अपराह्न १ देखि १:३० सम्म हुने समारोहमा सम्राट् नारुहितो स्टेट रुममा आउनेछन् र उनको पछि राजप्रासाद सेवाका पदाधिकारीले तरबार, जवाहरत, राजकीय निशाना छाप आदि लिएर आउने छन् ।

त्यसपछि राजा नारुहितो सिंहासनमा बस्नेछन् । राजप्रासाद सेवाका पदाधिकारीले आफूले बोकेका वस्तु सिंहासनको टेबलमा चढाउने छन् । साम्राज्ञी मासाको पनि स्टेट रुममा आउनेछिन् र आफ्नो आसनमा बस्नेछिन् । समारोहमा अतिथिहरुले सम्राट् र साम्राज्ञीप्रति शुभकामना तथा सम्मान जाहेर गर्ने गद्दी आरोहण अन्तरराष्ट्रिय मिडिया सेन्टरमा सोमबार बाँडिएको कार्यक्रम पुस्तिकामा जनाइएको छ।

समारोहमा सम्राट् नारुहितोले सम्बोधन गर्ने र प्रधानमन्त्री सिन्जो आबेले बधाई मन्तव्य दिने पनि उल्लेख छ । साँझ अतिथिहरुको सम्मानमा राजकीय भोजको आयोजना हुने बताइएको छ ।

सन् १९६० फेब्रुअरी २३ मा जन्मिएका सम्राट् नारुहितो गत मे १ मा राजसिंहासनमा आसीन भएपछि रेइवा युग शुरु भएको मानिएको छ ।

आफ्ना पिता अकिहितोले अप्रिल ३० मा सन् १८१७ देखि जापानी राजतन्त्रको इतिहासमा पहिलो पटक गद्दी परित्याग गरेपछि उनी जापानका १२६ औँ सम्राट् भएका हुन् ।

सानोमा पर्वतारोहण, घोडचढी र भ्यायलनमा रुचि राख्ने उनी हाल जल नीति र जल संरक्षणमा अभिरुचि राख्छन् । उनन्साठी वर्षीय नारुहितोले आफू गत मेमा सम्राट् बनेपछि राज्य र एकताको प्रतीक बन्ने घोषणा गरेका थिए ।

पूर्वी एशियामा पर्ने जापानमा संवैधानिक राजतन्त्रसहितको संसदीय सरकार छ । प्रशासनिक रुपले ४७ प्रिफेक्चरमा विभाजित जापानमा सम्राट् राष्ट्रिय एकताका प्रतीक र प्रधानमन्त्री सरकारका प्रमुख हुन्छन् ।

तल्लो सदनमा ४ सय ८० सदस्य चार वर्षका लागि र माथिल्लो सदनमा २ सय ४२ सदस्य छ वर्षका लागि चुनिन्छन् । जापान अमेरिकापछिको प्रविधिमा शक्तिशाली अर्थतन्त्र र क्रयशक्तिका हिसाबले अमेरिका र चीनपछिको तेस्रो ठूलो अर्थतन्त्र मानिन्छ ।

जापानी भिक्षु एकाइ कावागुची नेपाल भ्रमण गर्ने पहिलो जापानी मानिन्छन् । उनी सन् १८९९ मा नेपालको पोखरा, मुस्ताङ हुँदै तिब्बत अध्ययनका लागि गएका थिए ।

नेपाल जापान दौत्य सम्बन्ध सन् १९५६ मा भई नेपालमा सन् १९६८ मा जापानी राजदूतावास र सन् १९७८ मा जापानी सहयोग नियोग जाइका कार्यालय स्थापना भएको हो ।

तपाईको प्रतिक्रिया