आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – आज दशैंको नवौँ दिन शक्तिस्वरूपा दूर्गा भवानीको पूजाअर्चना गरी महानवमी पर्व देशभर मनाइँदै छ। घटस्थापनाका दिन आ-आफ्नो घरमा विधिपूर्वक राखिएको जमरा महानवमीका दिन विभिन्न शक्तिपीठमा चढाइने चलन रहेको छ।

यस उपलक्ष्यमा आज दसैँघर र कोतलगायत देशका विभिन्न देवीका मन्दिर र शक्तिपीठहरूमा बोका, हाँस, कुखुरा र राँगाको बलिसहित विशेष पूजाअर्चना र पाठ गर्ने गरिन्छ। शाकाहारीहरूले भने कुभिन्डो, घिरौँला र मूला आदिको बलि दिने र नरिवल चढाउने प्रचलन रहेको छ।

पुराणअनुसार महानवमीका दिन चामुण्डादेवीले रक्तबीज असुरको संहार गरेकाले यस पर्वलाई विशेष महत्वका साथ लिइन्छ। कतिपय ठाउँमा आज हाँस, कुखुरा, बोका, भेडा र राँगाको पञ्चबली पनि चढाइन्छ। यस पर्वमा कोतहरूमा हर्ष बढाइँका साथ कोतपूजा र निशानपूजा पनि गरिन्छ।

महानवमीका अवसरमा बिहान हनुमानढोका दरबारका साथै नेपाली सेनाका ब्यारेक तथा गुल्महरूमा बाजागाजासहित बलि दिएर जङ्गी निशान पूजा तथा कोतपूजा गर्ने प्रचलन छ। काठमाडौंको हनुमानढोकास्थित ऐतिहासिक तलेजु भवानीको मन्दिर सर्वसाधारणको दर्शनका लागि आज एक दिन मात्र खोल्ने गरिन्छ । ***

तपाईको प्रतिक्रिया