आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – नर्वेले नेपालको विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने भएको छ । बुधबार काठमाडौंमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नेपालस्थित नर्वेजियन राजदुतावास र युनाईटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (यूनओपिएस) बीच नेपालको २४ वटा विद्यालय पुनर्निर्माणका लागि ८० लाख अमेरिकी डलर आर्थिक सहायता उपलब्ध गराउने समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

सिन्धुली, रामेछाप, भक्तपुर र काठमाडौंको गरी भूकम्पले क्षति पु र्‍याएका २४ वटा विद्यालयको पुनर्निर्माणको लागि सो सहायता उपलब्ध गराइएको सो समझदारी पत्रमा उल्लेख छ । परियोजना अन्तरगत सिन्धुलीमा ९, रामेछापमा १३ तथा भक्तपुर र काठमाडौंमा १-१ वटा विद्यालय पुनर्निर्माण हुनेछन । अपांग मैत्री यी विद्यालयमा शौचालय र खानेपानीको पनि उचित व्यवस्था हुने र यसबाट करिव ५ हजार ५ सय विद्यार्थी लाभान्वित हुनेछन् ।

समझदारी पत्रमा नेपालको तर्फबाट राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रवक्ता पिताम्बर घिमिरे, नर्वेजियम राजदुत लास्से जोर्न जोहानेसे र युनपिएसका राष्ट्रिय निर्देशक चाल्स क्यालानानले हस्ताक्षर गरे ।

कार्यक्रममा बोल्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले नर्वे सरकारले नेपालको विद्यालय पुनर्निर्माणमा सो सहयोग गरेकोमा आभार व्यक्त गरे । उनले सो परियोजना तोकिएकै समय भित्र सम्पन्न हुने विश्वास व्यक्त गरे । दुई वर्ष भित्र सो परियोजना सम्पन्न गर्ने लक्ष्य लिइएको छ । समझदारी पत्रमा गुणस्तरीय विद्यालय पुर्ननिर्माण गर्ने प्रतिवद्धता पनि जनाइएको छ ।

तपाईको प्रतिक्रिया