आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा इटहरीबाट तीन जना पक्राउ परेका छन् । मंगलबार इलाका प्रहरी कार्यालय इटहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न भएका अन्य दुई फरार छन् । पक्राउ पर्नेमा सुन्दरहरैचा-१२ का बसचालक विकास कसई, झापा सुरुङ्गा-४ का सुरज थापा र सिरहाका सुजेन्द्र भुजेल रहेका सुनसरीका प्रहरी नायब उपरीक्षक विनोद शर्माले जानकारी दिए । सोही घटनामा संलग्न मोरङ बेलबारीका नितेश घिमिरे र ताके भन्ने सुमन फरार रहेका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

इटहरीमा सोमबार मध्यरातमा पाँच युवाको समूहले युवतीलाई सामूहिक बलात्कार गरेको प्रहरीले जनाएको छ। इटहरीको धरान-विराटनगर सडकखण्डको साथी पेट्रोलपम्प नजिक युवतीलाई बलात्कार गरेको प्रहरीको भनाइ छ । धरानबाट को१ख ४६२६ नम्बरको बसमा हालेर इटहरी ल्याई युवतीलाई रोडको छेउमा पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ ।

युवाहरुको समूहले सडक छेउमै एक युवतीलाई सामूहिक बलात्कार गरेको विषयमा स्थानीयवासीले प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटना स्थलमा पुगेको थियो । घटनाका विषयमा अनुसन्धान भइरहेको र पीडित युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया