आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौं – नेपाल टेलिकमले ३२ जिल्लाका मुख्य शहरमा उच्चगतिको फोरजी सेवा सुरु गर्ने भएको छ । नेपाल टेलिकको महत्वकांक्षी परियोजनाका रुपमा रहेको फोरजी सेवा विस्तार गर्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बेलुका ५ बजे मुख्यमन्त्रीसहित विभिन्न नगरका मेयरसँग एकै पटक भिडियो कल गरेर फोरजी विस्तारको औपचारिक उद्घाटन गर्ने कार्यक्रम समेत तय भएको छ । नेपाल टेलिकमले २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी सेवा सुरु गरेको थियो । बुधबारबाट फोरजी सेवा ३२ जिल्लामा विस्तार गर्न लागिएको हो ।

टेलिकमको अधिकतम हिस्सा थ्रीजीले ओगटेको छ । कम्पनीले थ्रिजी विस्थापन गर्दै फोरजी सेवा सुरुवातका लागि आक्रमक योजना ल्याएको हो । नेपाल टेलिकमले बुधबार सबै महानगरपालिकासहित मुख्य सहरमा फोरजी सुरु गर्नेछ । कम्पनीले फोरजी सेवा विस्तारसँगै ग्राहकलाई आकर्षक इन्टरनेट प्याकेज उपलब्ध गराउँदै छ । फोरजी सेवा विस्तार भएपछि सेवाग्राहीहरुले साविकको मूल्यमा दोब्बर डाटा पाउने टेलिकमले जनाएको छ ।

प्रयोगकर्तालाई टेलिकमले दिँदै आएको अल टाइम डाटा अफरमा शतप्रतिशत डाटा भोलुम थप गरी साविकको मूल्यमै प्रदान गरिने टेलिकमले जनाएको छ। टेलिकमका ग्राहकहरुले जम्मा २५ रुपैयाँमा ४०० एमबी डाटा पाउने छन्।

यसअघि टेलिकमले २५ रुपैयाँमा जम्मा २ सय एमबी डाटा दिन्थ्यो । यो प्याकेज लिएको २४ घण्टासम्म प्रयोग गर्न सकिनेछ । १ सय रुपैयाँमा ७ दिनसम्म प्रयोग गर्न सकिने हाल उपलब्ध भइरहेको ५०० एमबी डाटा प्याकेज फोरजीका सेवाग्राहीलाई थप ५०० एमबी डाटा वोनसस्वरुप प्राप्त हुनेछ । यसको प्रयोग ७ दिनसम्म गर्न सकिनेछ ।

साथै २८ दिनसम्म प्रयोगमा ल्याउन सकिने २ सय ४० रुपैयाँमा उपलब्ध जिबी डाटा प्याकेज फोरजी मोबाइल प्रयोगकर्तालाई सोही मूल्यमा ३ जिबी डाटासहित प्राप्त हुनेछ ।

तपाईको प्रतिक्रिया