आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं – फिफा विश्वकप २०२२ र एएफसी एसियन कप २०१३ को छनोट प्रतियोगिताअन्तर्गत अस्ट्रेलियाविरुद्धको खेलका लागि नेपालले राष्ट्रिय टिम घोषणा गरेको छ । प्रशिक्षक योहान कालिनले घोषणा गरेको नेपाली टिममा गत महिना चाइनिज ताइपेईविरुद्ध खेलेका खेलाडीको बाहुल्यता छ ।

घाइते भएर ताइपेईविरुद्धको खेल गुमाएका डिफेन्डर सुमन अर्याल र फरवार्ड नवयुग श्रेष्ठ टिममा फर्किएका छन् । रवि सिलवाल र विमल राना फेरि टिमबाट बाहिरिएका छन् । समूह ‘बी’ रहेको नेपालले आफ्नो तेस्रो खेल अस्ट्रेलियासँग खेल्न लागेको हो । खेल क्यानबेरामा असोज २३ गते (१० अक्टोबर) नेपाली समयअनुसार दिउँसो सवा २ बजे (अस्ट्रेलियाको समयअनुसार राति साढे ७ बजे) हुनेछ ।

नेपालले पूर्व एसियन च्याम्पियन अस्ट्रेलियासँग पहिलो पटक प्रतिस्पर्धा गर्न लागेको हो । फिफा वरीयतामा ११७ स्थान माथि रहेको अस्ट्रेलियाविरुद्ध खेल्नु नेपालका लागि कठिन चुनौती हुनेछ। फिफा वरीयतामा नेपाल १६१ र अस्ट्रेलिया ४४ स्थानमा छन् । समूहमा नेपालले अहिलेसम्म २ खेल खेलिसकेको छ ।  पहिलो खेलमा कुवेतसँग ७-० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा चाइनिज ताइपेईलाई उसैको घरेलु मैदानमा २-० गोलले पराजित गरेर महत्वपूर्ण ३ अंक जोडेको थियो ।

अस्ट्रेलियासँग खेलेपछि नेपालले असोज २८ मा जोर्डनविरुद्ध उसैको घरेलु मैदानमा खेल्नेछ । समूह ‘बी’ को अंक तालिकामा २ खेलबाट ३ अंक जोडेको कुवेत पहिलो स्थान, १ खेलबाट ३ अंक जोडेको अस्ट्रेलिया दोस्रो स्थानमा, १ खेलबाट ३ अंक जोडेको जोर्डन तेस्रो स्थानमा र २ खेलबाट ३ अंक जोडेको नेपाल चौथो स्थानमा छन् । सुरुवाती दुवै खेल गुमाएको ताइपेई पुछारमा छ ।

नेपाली टिम
‍गोलकिपर : किरण चेम्जोङ (कप्तान), विकेश कुथु र विशाल श्रेष्ठ
डिफेन्डर : सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल
मिडफिल्डर : सुनील बल, रवि पासवान, अन्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ, विशाल राई, रोहित चन्द
फरवार्ड : विमल घर्तीमगर, अभिषेक रिजाल, नवयुग श्रेष्ठ

तपाईको प्रतिक्रिया