शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडौं – बर्सेनी दशैँका बेला यात्रुलाई हावाई जहाजको टिकट पाउन सकस हुन्छ । वायु सेवा प्रदायक कम्पनीले दशैँ आउन एक महिना अघि नै हवाई जहाजको टिकट बुकिङ पूर्ण भइसकेको बताउँछन् । यही बहानामा दशैँको मौका छोपेर निजी हवाई कम्पनीले यात्रुको ढाड सेक्नेगरी भाडा असुल्ने गरेका छन् । महङ्गो टिकटसमेत पाउन यात्रुलाई मुश्किल हुन्छ ।

हरेक वर्ष दशैँ आउनासाथ राजधानी काठमाडौँलाई  कर्मथलो बनाएका लाखाैं नागरिक घर जाने चटारोमा हुन्छन् । यात्रुका लागि घर फर्कन दुई विकल्प छन् । हवाई र सडक यातायात प्रयोग गरी यात्रु आ-आफ्नो गन्तव्यतर्फ लाग्छन् । विगत झैं यस वर्ष पनि दशैँमा घर फर्कन यात्रुले उही सास्ती खेप्नुपरेको छ । सबैजसो वायु सेवा कम्पनीले दशैँको टिकट सकिएको बताएका छन्  । यात्रुले महङ्गो शुल्क तिरेर पनि टिकट पाउन सकेका छैनन् ।

वायु सेवा कम्पनीले दशैँको मुखमा हरेक वर्ष झण्डै दोब्बर हवाईभाडा बढाउँदै आएका छन् । सडक पूर्वाधार अभावका कारण यात्रुले हवाई यात्रा गर्नुपर्ने बाध्यता छ । महङ्गो भाडा तिरेर भए पनि सहज र आरामदायी यात्राका लागि यात्रु लालायित हुन्छन् । उनीहरुले दशैँमा हरेक वर्ष पीडा भोग्नु पर्छ । अहिले पनि दशैँका लागि हवाई जहाजको टिकट पाउन कठिन भएको छ । पाए पनि दोब्बर भाडा तिर्नुपर्ने बाध्यता छ ।

पोखरा जान सामान्य अवस्थामा रु एक हजार ८०० सम्म भाडा तिर्नु पर्छ । अहिले दशैँमा रु पाँच हजारभन्दा बढी भाडा तिर्नुपरेको छ । यस्तै विराटनगरका लागि हवाईभाडा अन्य बेला रु तीन हजार २०० सम्म पर्छ । यात्रुले अहिले रु सात हजारभन्दा बढी भाडा तिर्दै आएका छन् । अहिले यात्रुले धनगढीका लागि रु १२ हजारभन्दा बढी भाडा तिर्नु परिरहेको छ ।  यात्रुलाई मात्र हैन वायु सेवा कम्पनीलाई पनि कम्ति चुनौती छैनन् । भाडा बढाएरै भए पनि उडान व्यवस्थापन र माग अनुसारको सेवा दिन दशैँका बेला हम्मे हम्मे पर्छ ।

तपाईको प्रतिक्रिया