शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

काठमाडाैं – कपनमा ५५ वर्षीया महिला कमला कार्कीको हत्यामा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुर घर भएका सोमलाल थिङ, ओखलढुंगाका पासाङ तामाङ, रौतहटकी पासाङ तामाङ, ओखलढुंगाका पासाङ शेर्पा र रामकृष्ण कार्की छन् ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार उनीहरूलाई राजधानीका विभिन्न स्थानबाट शनिबार र आइतबार पक्राउ गरिएको हो । असोज १ गते बिहान कपनको तेन्जिङ चोकनजिकैको खाजा पसलको भित्रपट्टी कार्कीको हत्या भएको थियो । आफ्नै कोठामा हात खुट्टा बाँधेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनाबारे अनुसन्धान थालेको थियो ।

परिसर प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार उनलाई नशालु पदार्थ सेवन गराएर सुनको गहना र रकम लुटेको पाइएको छ । ‘बियरमा लठ्याउने औषधि मिसाएर खुवाइएको अनुसन्धानमा खुलेको छ,’ बोगटीले भने, ‘सुन र पैसा लुट्नकै लागि हत्या योजना बनाएको देखिन्छ ।’ कमला त्यहाँ किराना पसलसँगै रक्सी पसल सञ्चालन गर्थिन् । हत्या गर्ने व्यक्ति र उनीबीच पहिलेदेखि चिनजान रहेको अनुसन्धानमा खुलेको छ ।

कमलाको साथमा रहेका चार वटा सुनका औंठी र ४५ हजार रुपैयाँ लुटेको प्रहरीले जनाएको छ । नशालू पदार्थ सेवन गरेपछि कार्की लठ्ठिएकी थिइन् । त्यहीबेला हातबाट औंठी झिक्न खोज्दा उनले प्रतिकार गरेपछि घाँटी थिचेर हत्या गरिएको प्रहरीको भनाइ छ । पक्राउ परेकालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया