शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडाैं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थामाथि कुनै खतरा नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले अहिले नै परिवर्तन र व्यवस्था प्रति कुनै खतरा नभएको उल्लेख गरे ।

उनले परिवर्तनविरुद्ध अराजक र उच्छृंखल गतिविधि भने देखिन थालेको भन्दै त्यसको प्रतिकार गर्न सरकार र सरकारमा रहेका राजनतिक दल तथा सरकारबाहिर रहेका राजनीतिक दल सहमत रहेको बताए । उनले संविधान र राज्य प्रणालीलाई दोष देखाएर उच्छृंखल गतिविधि गर्नेहरुलाई राजनीतिक र सांस्कृतिक बहसवाट परास्त गरिने बताए ।

भ्रष्ट्राचार नियन्त्रणमा सरकार सफल हुदै गएको उल्लेख गर्दै अध्यक्ष दाहालले मुलुकमा चाँडै देखिने गरी विकास निर्माणले गति लिने र सुशासन कायम हुने उल्लेख गरे । पार्टीभित्र सरकारको कामको समिक्षा भइरहेको भन्दै उनले सरकारले काम नै नगरेको भन्ने विषयमा प्रचारबाजी मात्र गरिएको र त्यसमा सत्यता नभएको दाबी गरे ।

अध्यक्ष प्रचण्डले गतवर्ष मौलिक हक सम्बन्धि कानुन बनेको, विकास निमार्णको कामले तिव्रता पाईरहेको तथा पेट्रोलियम पदार्थ ल्याउनका लागि पाइपलाइन विस्तार लगायतका महत्वपूर्ण कामहरु भएको बताए । मुलुकको आर्थिक वृद्धिदर समेत वढेको अवस्थामा सरकारले केहि गरेन भनेर आत्तिहाल्नुपर्ने अवस्था नरहेको उनको भनाई थियो ।

तपाईको प्रतिक्रिया