काठमाडाैं – युरोपियन फुटबल एसोसिएसनको छाता संगठन युइएफएले पोजिसनल अवार्डको मनोनयन सार्वजनिक गरेको छ । यो अवार्ड गत सिजनको च्याम्पियन्स लिगमा आफ्नो पोजिसनमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई दिइन्छ ।
फरवार्डको मनोनयनमा सधैंझैं बार्सिलोनाका कप्तान लियोनल मेसी र युभेन्टसका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डो छन् । रोनाल्डो र मेसीलाई लिभरपुलका स्ट्राइकर सादियो मानेले उपाधि होडमा टक्कर दिइरहेका छन् । यस्तै, उत्कृष्ट मिडफिल्डरका भर्खरै बार्सिलोनामा आबद्ध भएको आयाक्सका युवा स्टार फ्रेङ्की डि योङ, टोटेनह्यामलाई च्याम्पियन्स लिग फाइनल पु-याएका क्रिस्टियन एरिक्सन र लिभरपसरललाई युरोपियन च्याम्यिन बनाउन महत्वपूर्ण भूमिका खेलेका जोर्डन हेन्डरसन रहेका छन् ।
डिफेन्डरको मनोनयनमा भने लिभरपुलको बर्चस्व रहेको छ । लिभरपुललाई च्याम्पियन्स लिग जिताउन डिफेन्सबाट मुख्य भूमिका खेलेका भिर्गिल भान डाइक र ट्रेन्ट-अलेक्जेन्डर आर्नोल्डका साथमा हाल युभृन्टसमा आबद्ध भएका आयाक्सका स्टार म्याथिस डि लाइट मनोनित भएका हुन् । उत्कृष्ट गोलकिपरको होडमा लिभरपुलका एलिसन बेकर, टोटेनह्यामका ह्युगो लोरिस र बार्सिलोनाका टेर स्टेगेन मनोनित भएका छन् । आगामी २९ अगस्टमा मोनाकोमा हुने समूह चरणको ड्र सार्वजनिक गर्ने कार्यक्रममा पोजिसनल अवार्डका विजेताको घोषणा गरिने युइएफएले जनाएको छ ।
अघिल्लो सिजनको पोजिसनल अवार्डमा रियल मड्रिडले क्लिन स्विप गरेको थियो । रियल मड्रिडलाई किर्तीमानी रुपमा लगातार ३ पटक च्याम्पियन्स लिग जिताएर उपाधिमा ह्याट्रिक गराएका क्रिस्टियानो रोनाल्डो उत्कृष्ट फरवार्ड घोषित भएका थिए । यस्तै, मिडफिल्डरमा लुका मोड्रिच, डिफेन्डरमा सर्जियो रामोस र गोलकिपरमा केलर नाभास उत्कृष्ट बनेका थिए ।