काठमाडाैं – भारतले वेस्ट इन्डिजविरुद्धको ३ खेलको टी-२० सिरिज ३-० ले क्लिन स्विप गरेको छ । तेस्रो तथा अन्तिम भिडन्तमा ७ विकेटको प्रभावशाली जित हात पार्दै भारतले टी-२० सिरिजमा एक पक्षीय नतिजा निकालेकाे हाे ।
अन्तिम खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज २० ओभरमा ६ विकेट गुमाएर १ सय ४६ रनको सामान्य स्कोरमा सीमित भएको थियो । वेस्ट इन्डिजका लागि किरोन पोलार्डले ४५ बलमा ५८ रन तथा रोभमेन पावेलले २० बलमा ३२ रन बनाउनुबाहेक अन्य कुनै ब्याट्सम्यानले राम्राे खेल्न सकेनन् ।
वेस्ट इन्डिजका ब्याट्सम्यानलाई दबाबमा राख्न म्यान अफ द म्याच दीपक चाहरले ३ ओभरमा जम्मा ४ रन दिएर ५ विकेट लिएका थिए । १ सय ४७ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा आएको भारतले १९ दशमलव १ ओभरमा ३ विकेट गुमाउँदै १ सय ५० रन बनाएर लक्ष्य पूरा गरेको थियो । भारतको सहज जितमा रिसभ पन्तले ४२ बलमा ६५ रन तथा कप्तान विराट कोहलीले ४५ बलमा ५९ रनको योगदान दिए ।