काठमाडौं – ते्रहौं दक्षिण एसियाली खेलकुद (साग) आगामी मंसिर तेस्रो साताबाट नेपालमा हुँदैछ । काठमाडौं र पोखराका विभिन्न पूर्वाधार स्तरोन्नति एकातिर छ भने घरेलु मैदानमा ऐतिहासिक नतिजा ल्याउने लक्ष्य अर्कोतिर छ । त्यहि लक्ष्यलाई मध्यनजर गर्दै समावेश गरिएका २७ खेलमध्ये क्रिकेट बाहेक अन्य खेलको बन्द प्रशिक्षण सुरु भइसकेको छ ।
त्यसका लागि आर्चरीले अहिले ३ स्थानमा प्रशिक्षण गरिरहेको छ । ४ जना खेलाडी वैदेशिक अभ्यासमा छन् भने ४ जना पोखरा, ४ जना काठमाडौं र बाँकी ४ जनालाई पनि पोखरा अभ्यासमा समावेश गरिनेछ ।
आर्चरी संघका अध्यक्ष तथा प्रशिक्षक दीपक गुरुङले ऐहितासिक नतिजाको लक्ष्यका साथ तयारी भइरहेको बताए । हाल प्रशिक्षणका लागि जापानमा रहेका उनले आर्चरीबाट पदक संख्या बढ्नेमा विस्वस्त रहेको सुनाए ।अहिले जापानी प्रशिक्षकको समेत रोहबरमा ज्ञानु अवाले, मित्र राई, तिलक पुन मगर र रोशन नगरकोटीले अभ्यास गरिरहेका छन् ।
उनका अनुसार जापानको विशेष प्रशिक्षणको व्यवस्था नेपाल ओलम्पिक कमिटीले मिलाइदिएको हो । प्रशिक्षक गुरुङका अनुसार इन्डोेनेसियामा सम्पन्न भएको १८ एसियाली खेलकुद (एसियाड) र नेपालगन्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदमा उत्कृष्ट प्रदर्शन गरेका ४ खेलाडीलाई वैदेशिक अभ्यासको अवसर मिलेको हो ।
सेप्टेम्बर २ मा जापानको टोली फर्किएर सागसम्म पोखरामा अभ्यास गर्ने संघले जनाएको छ ।