काठमाडाैं – ब्राजिलिएन फुटबल स्टार नेमार जुनियर स्पेनिस क्लब बार्सिलोना अनुबन्ध नहुने पक्का भएको छ । बार्सिलोनाका उप-प्रमुख जोर्डि कार्डोनेरले नेमार यस सिजन बार्सा नआउने स्पष्ट पारेका हुन् । यससँगै नेमारको बार्सिलोना सपना अधुरो बनेको छ ।
नेमार बार्सिलोना अनुबन्ध हुने हल्लाकाबीच बार्साका उप-प्रमुख जोर्डि कार्डोनेरले नेमारबारे सिर्जना भएका भ्रमलाई छर्लङ्ग पारेका हुन् । यद्यपी उनले नेमार पीएसजीमा खुशी नभएको विषयमा सहमति जनाए। किनभने पछिल्लो समय नेमारले आफूलाई बार्सा फर्कन मन लागेको खुलेरै बताउँदै आएका छन् । टिभीथ्रीसँग बोल्दै उनले भने,‘नेमार, उनी पीएसजीमा खुशी छैनन् । तर अवस्था यस्तो छ कि त्यो विषय पेरिसमै सुल्झाएको राम्रो ।’
‘आज, यही समयमा हामी औपचारिक घोषणा गर्दछौं, नेमार आगामी दिनमा बार्सा आउन सक्लान् । तर यसपटक मिल्दैन ।’ यसअघि इभान राकिटिक र फिलिप कोटिन्हो पीएसजीलाई दिएर नेमार बार्सा ल्याउने हल्ला पनि चलेको थियो । यस विषयमा उनले भने,‘हामी आफ्ना खेलाडीलाई माया र आदर गर्दछौं। त्यसैले हामी यस्ता विषयमा बोल्च उचित ठान्दैनौं ।’ मार्का