काठमाडाैं – फ्रान्सेली स्टार केलिएन एमबाप्पेले पीएसजीमा लामो समयसम्म नरहने स्पष्ट पारिसकेका छन् । सन् २०१७ मा मोनाकोबाट पीएसजी आइसकेपछि एमबाप्पेले आफ्नो खेल निकै सुधारेका छन् ।
नेमार पीएसजीमै रहँदा एमबाप्पेलाई एक स्टार खेलाडीको रुपमा अझै हेरिएको छैन । सिजनको अन्त्यसँगै एमबाप्पेले आफूलाई जिम्मेवारी बोध हुने कार्य गर्न मन लागेको बताएका थिए । उनले त्यो पीएसजीबाटै अथवा अन्य क्लबबाट पुरा हुने भनाइ राखेका थिए ।
स्पेनिस खेल पत्रिका मार्काका अनुसार एमबाप्पेले पीएसजीले जति पैसा दिन तयार भए पनि उसले अब नयाँ सम्झौता गर्ने छैनन् । एमबाप्पेले रियल मड्रिड र बार्सिलोनाजस्ता क्लबबाट खेल्नेछन् । सन् २०२२ सम्म एमबाप्पेको सम्झौता पीएसजीसँग छ । उसले त्यसपछि अन्य क्लबबाट आफ्नो नयाँ अध्याय सुरु गर्नेछन् ।
यसै सिजनको सुरुवातमा रियल मड्रिडले एमबाप्पे अनुबन्ध गर्न चाहेको थियो । तर पीएसजीले भनेजति मूल्य तिर्न नसकेपछि मड्रिडले एमबाप्पेलाई अनुबन्ध गरेन। रियलले इदेन ह्याजार्डलाई अनुबन्ध गरेको छ ।
एमबाप्पेले हालै एक टेलिभिजन अन्तर्वार्तामा विश्वको उत्कृष्ट खेलाडी को हो भन्ने प्रश्नमा कुनै एक खेलाडीको नाम लिन चाहेनन् । उनले पेले, रोनाल्डो, मेस्सी, जिदान आफ्नो आइडल भएको बताएका थिए ।