काठमाडाैं – बुटवलका जुम्ल्याहा दाजुभाइ लव पन्थी र कुश पन्थीले नेपाली भाषामा कुराकानी गर्ने रोबोट बनाएका छन् । उनीहरुले रोबोटलाई ‘लवकुश मार्स’ नाम दिएका छन् । मार्सको अर्थ मंगल ग्रहमा हिँड्ने रोबोट हो । त्यसकै प्रभावमा रहेर उनीहरूले यो रोबोट तयार गरेको बताएका छन् ।
जुम्ल्याहा दाजुभाइले एक वर्षअघिमात्रै गो-गो रोबोट बनाएका थिए । जसले अंग्रेजी भाषा बोल्थ्यो । एक वर्षको प्रयासपछि मार्स तयार भएको हो । एसईई परीक्षा दिएपछिको समयमा उनीहरूले यो रोबोट तयार पारेका हुन् । दाजुभाइ बुटवलको नवीन औद्योगिक माविमा पढ्छन् । यो रोबोटले मानिसको पहिचान समेत गर्छ । ‘यो रोबोट गो-गोभन्दा फरक छ । बनोट र गतिविधि नै फरक पारेका छौं’, लवले भने ।
रोबोटमा पाइथन प्रोग्रामिङ ईन ल्याङवेजद्वारा बनाइएको लुकु सफ्टवेयर प्रयोग गरिएको छ । रोबोटमा हाईभोल्टेज मोटर, हाईस्पीड प्रोसेर, एल्मुनियम पनि प्रयोग गरिएको छ । दाजुभाइले यो रोबोटको ‘प्याटेन्ट राइट’लाई उद्योग विभागमा दर्ता गराएका छन् । ‘यो प्याटन्ट गरेपछि अरू कसैले पनि नेपालकै पहिलो नेपाली बुझ्ने रोबोट भनेर दाबा गर्न सक्दैनन्’, कुशले भने ।
नेपाली भाषा बोल्ने रोबोटले हात, टाउको चलाउन सक्छ भने फोटो खिच्ने, मान्छे चिन्ने, रंग पत्ता लागउने, शब्द उच्चारण गर्छ । यो रोबोट पांग्राको मद्दतले हिड्ने गराइएको छ । ‘ रोबोटलाई सपिङ मल, बैंकमा सुरक्षागार्डका रूपमा प्रयोग गर्न सकिन्छ’, कुशले भने । १६ वर्षीया दाजुभाइले सानै उमेरबाट रोबोटको सपना बुनेका थिए । त्यसको पहिलो सफलता गतवर्षमात्रै मिलेको थियो । गो-गो निर्माणमा आफ्नै खर्च जुटाएका उनीहरूले मार्स निर्माणमा भने सहयोग पाएका छन् । पाँच लाखमा तयार भएको मार्स निर्माणमा बुटवल उपमहानगरले एक लाख सहयोग गरेको थियो ।
जुम्ल्याहा दाजुभाइले आधुनिक रोबोट बनाएर व्यवसायिक काममा प्रयोग गर्ने सोच बनाएका छन्। रोबोटबाटै सडक किनारमा कफी र जुस बेच्ने योजना उनीहरूको छ । ‘सडकमा रोबोटको माध्यमबाट जुस, कफी बिक्री गर्ने योजना बनाएका छौं’, कुशले भने । गो-गो रोबोट बनाएपछि उनीहरू कपिलवस्तुमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मान पाएका थिए । गो-गो रोबोट बुटवलमा भएको क्यान ईन्फोटेकमा समेत प्रर्दशनमा राखिएको थियो । ‘नेपालमै आधुनिक रोबोट बन्छन भन्ने प्रमाणित गर्ने सोच छ, सकेसम्म मेहनत गछौं, पन्थी दाजुभाइले भने ।