काठमाडाैं – कञ्चनपुरको भीमदत्तनगरमा जारी प्रधानमन्त्री कप महिला क्रिकेट राष्ट्रिय प्रतियोगिताको उपाधि सशस्त्र प्रहरी बलको एपीएफ क्लबले जितेको छ ।
बुधबार बिहान घरेलु टोली सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्दै एपीएफले सो उपाधि जितेको हो । टस जितेर फिल्डिङ रोजेको एपीएफले निर्धारित २० ओभरको खेल ७१ रनमा समेटेको थियो । ७२ रनको विजय लक्ष्य पाएको एपीएफले १४ ओभरमा चार विकेटको क्षतिसहित ७४ रन बनाउन सफल भयो ।
सेमिफाइनल खेल वर्षाका कारण अवरुद्ध भएपछि सुदूरपश्चिमले प्रदेश नं २ सँग अंक बाँडेर अन्तिम चरणको खोलमा प्रवेश गरेको थियो भने एपीएफ सेमिफाइनलमा प्रदेश नं १ लाई हराउँदै समूह ‘बी’बाट अन्तिम चरणमा पुगेको थियो । प्रतियोगितामा सात प्रदेश र विभागीय एपीएफ गरी आठ टोली सहभागी थिए ।
वर्षाका कारण चार खेलमा असर परेको थियो । उपाधि विजेता टोलीले रु चार लाख पुरस्कार पाउनेछ भने दोस्रो हुनेले रु तीन लाख र तेस्रो हुनेले रु दुई लाख पुरस्कार पाउने आयोजकले जनाएको छ ।