शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

हालैमा सम्पन्न लोकसभाको निर्वाचन परिणामबाट भारतमा नरेन्द्र मोदीको पुनः उदय भएको छ । मोदी झन शक्तिशाली भएर आएका छन् । राष्ट्रियता र हिन्दुत्वलाई केन्द्रमा राखेर चुनावमा होमिएको भारतीय जनता पार्टी (बीजेपी) ले अपेक्षा गरेभन्दा राम्रो नतिजा हासिल गरेको छ । विश्वको ध्यान खिचेको भारतीय निर्वाचन र यसको परिणामले मोदीको कद अझ अग्लिएको छ । सरकार निर्माणको जिम्मेवारी पाएको भाजापामा उत्साह छाएको छ भने विपक्षी काँग्रेस आइले हार स्विकारेको छ ।

नजिकैको छिमेकी राष्ट्र नेपालमा पनि यसको चर्चा र तिब्र चासो हुनु स्वभाविकै हो । ९० करोड मतदाता भएको विशाल देश भारतमा डेढ महिना लगाएर सात चरणमा अनलाइन भोटिङ सम्पन्न गरिएको थियो । ६० करोड मतदाताले भाग लिएको सो निर्वाचनमा छिटफुट बाहेक त्यस्तो अप्रिय घटना भएनन् । नजिकैबाट नियालिरहेको नेपालले भारतीय निर्वाचनबाट सिक्न सकिने पाटो र यसको प्रभाव एवं सन्देशका बारेमा बहस सुरु भएको छ, यो आवश्यक पनि छ । सूचना र प्रविधिको उपयोग गर्दै अनलाईन भोटिङको प्रयोग अब नेपालमा पनि अपरिहार्य छ । निर्वाचन शिक्षा र मतदाता चेतनाको अभाव नेपालमा अझै देखिन्छ । जसका कारण भिडको पछाडि मतदाता बहकिने संस्कारले सक्षम नेतृत्व चयन नहुने नेपालको पुरानै रोग हो । बाहुबल, गुण्डागर्दी, पद, प्रतिष्ठा, पहुँच र पैसाको बलमा प्रभावित हुने निर्वाचनबाट आएका जनप्रतिनिधिहरु त्यस्तै पृष्ठभूमिका मानिसहरुबाट घेरिने हुँदा उनीहरुबाट तात्विक परिणामको अपेक्षा गर्न सकिदैन । धाँधली, अनियमितता, बुथ क्याप्चर जस्ता शब्द भारतको भीमकाय निर्वाचनमा कतै सुन्नुपरेन । यो नेपालले पनि सिक्न आवश्यक छ । विरासतको नाममा पुरानै रुझानमा रमाउन खोज्ने यथास्थितिवादीक दलहरुलाई अबका मतदाताले रुचाउन छोडेको निर्वाचनको परिणामबाट स्पष्ट भएको छ, यसको प्रत्यक्ष प्रभाव नेपालमा पर्न सक्ने देखिएको छ ।

नेपाली जनताले कहिल्यै बिर्सन नसक्ने मोदीको उपहार नाकाबन्दीका बेला ध्रुबिकरण भएका नेपालका राजनीतिक दल र तिनका नेताहरु यतिखेर मोदीको नजिक हुन हतारिएका देखिन्छन् । नेपालको संबिधान जारी हुँदा छिमेकी मुलुक भारतको मोदी प्रशासन बेखुश रहेको तथ्य सतहमै तैरिएको र त्यसको असर लामो समयसम्म कतै न कतै परेको धेरैले अझै बिर्सने छैनन् । सत्ताको उन्मादले मोदी प्रशासन छिमेकीहरुप्रति अझ कठोर बन्न सक्ने आंकलन पनि विभिन्न कोणबाट हुन थालेका छन् ।

परिवर्तित सन्दर्भमा मोदी प्रशासनको नेपालप्रतिको दृष्टिकोण, नेपाल भारत प्रबुद्ध समुहको बुझाउन बाँकी प्रतिवेदन, सार्कभन्दा विमस्टेकप्रति मोदीको प्राथमिकता, पाकिस्तानसंग थप चिसिएको सम्बन्ध र उसलाई एक्ल्याउने मोदीको रणनीति जस्ता बिषयले संवेदनशील भूराजनीति भएको एशियाको राजनीतिमा विशेष महत्व पाउने भएका छन् ।

मोदीको पहिलो नेपाल भ्रमणबाट चुलिएको लोकप्रियता धेरैबेर टिक्न सकेन । भारतीयहरूले नेपालको संविधानलाई अझै प्रस्ट रूपमा स्वीकार गरेका छैनन् । यसमा लुकेको गहिरो अर्थले कुनै पनि बेला असन्तुष्टि प्रकट हुन सक्ने संभावना कायमै देखिन्छ । नेपालमा कम्युनिष्टको बलियो सरकार भएको बेला भारतमा पुनः बलियो सरकार बन्ने भएको छ । भारतीय निर्वाचनमा अस्तित्व बचाउको स्थितिमा पुगेका त्यहाँका कम्युनिस्टहरुको अवस्थाले नेपालको कम्युनिष्ट आन्दोलन र दृष्टिकोणमा पार्ने प्रभाव अर्को महत्वपूर्ण पाटो मान्न सकिन्छ । त्यसबाट पाठ सिक्दै कम्युनिष्टको दुईतिहाई सरकारले जनताले अनुभूत गर्ने गरी परिवर्तनका उभार ल्याउन सक्नुपर्दछ । ठूला ठूला आश्वासन भन्दा सर्बसाधारणका जनजिविकासंग सरोकार राख्ने बिषयमा सरकार गम्भीर हुनु आवश्यक छ ।***

तपाईको प्रतिक्रिया