Deneme Bonusu Veren Siteler
मंगलबार, आश्विन १५, २०८१
Tuesday, October 1, 2024

काठमाडाैं – चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये ५५ लाख ५५ हजार ५५५ रुपैयाँ धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण गर्न लागेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गरिने भएको छ ।

चितवन महोत्सव मूल आयोजक समितिले शुक्रबार खर्च विवरण सार्वजनिक गर्दै महोत्सवमा रु तीन करोड ४४ लाख ५४ हजार ११७ आम्दानी गरेको जानकारी दिएको हो । महोत्सव मूल आयोजक समितिका संयोजक सहनलाल प्रधानले फाउन्डेसनसहित विभिन्न संघसंस्थालाई ७१ लाख १३ हजार सहयोगपश्चात् रु ६९ लाख ९९ हजार ७९१ बचत भएको जानकारी दिए ।

उनले महोत्सवलाई सहयोग पुर्याउने स्थानीय गणेश मन्दिरलाई पाँच लाख १७ हजार, राष्ट्रिय आधारभूत माविलाई रु एक लाख, नेपाल आदिवासी जनजाति महासंघलाई एक लाख ५० हजार, सशस्त्र प्रहरी बल कुरिनटारलाई तीन लाख ४० हजार, जिल्ला प्रशासन कार्यालय चितवनलाई रु एक लाख, नेवाः पुचः नारायणगढलाई ७५ हजार, नारायणी कला मन्दिरलाई रु ७५ हजार र जिल्ला प्रहरी कार्यालय अगाडि विश्रामस्थल निर्माण गर्न रु दुई लाख सहयोग गर्न लागिएको जानकारी दिए ।

प्रधानले क्रिकेट रंगशालाका लागि रकम थप गरी रु एक करोड पुर्याइने बताए । भरतपुर महानगरपालिका–१५ मा रंगशाला निर्माण गरिँदैछ । उद्योग वाणिज्य संघको अगुवाइमा जिल्ला समन्वय समिति चितवन र भरतपुर महानगरपालिका आयोजक हुने गरी गएको पुस २५ गतेदेखि माघ ४ गतेसम्म नारायणी नदी किनारमा चितवन महोत्सवको आयोजना गरिएको थियो ।

खर्च विवरणअनुसार भरतपुर महानगरपालिका आयोजक भएर पनि महोत्सवले महानगरलाई कर भुक्तानी गरेको छ । प्रत्येक कक्षको उठेको रकमको १० प्रतिशतका दरले बहाल कर आठ लाख ९५ हजार महोत्सवले महानगरलाई बुझाइसकेको छ । मनोरञ्जन कर तीन लाख ५० हजार र महोत्सव परिसर भाडाबापत रु १० लाख महानगरपालिकालाई महोत्सवले बुझाउन विनियोजन गरेको छ ।

प्रधानले महोत्सवमा बचेको रकमको २५ प्रतिशत आयकर १६ लाख ९९ हजार आन्तरिक राजस्व कार्यालय भरतपुरमा बुझाएको बताए । महोत्सवको हिसाब सार्वजनिक गर्न ढिलाइ भइरहेको गुनासो आइरहेकाबेला महोत्सव मूल आयोजक समितिले खर्च विवरण सार्वजनिक गरेको हो । महोत्सवको पाँच लाख दर्शकले अवलोकन गरेका थिए ।

तपाईको प्रतिक्रिया