शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

काठमाडाैं – राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमले आगामी असार १९ गतेबाट जापान उडान सुरु गर्ने औपचारिक घोषणा गरेको छ । निगमले सातामा तीन उडान गर्ने गरी काठमाडौं-जापान सीधा उडानको घोषणा गरेको छ ।

निगमले काठमाडौं-ओसाकाको नियमित उडान हरेक मंगलबार, बिहीबार र शनिबार हुने जानकारी दिएको छ । निगमले प्रेस विज्ञप्ति जारी गरेरै जापान उडानको जानकारी दिएको हो । निगमले काठमाडौंबाट बिहान २ः३० बजे ओसाकाका लागि उड्नेछ । स्थानीय समयअनुसार दिनको ११ः५५ बजे जपानको ओसाका पुग्नेछ । यसैगरी ओसाकाबाट स्थानीय समयअनुसार १ः ५५ बजे उडेको निगमको जहाजले काठमाडौंमा सोही दिन साँझ ६ः०० बजे अवतरण गर्ने जानकारी निगमले दिएको छ ।

ओसाकाको सबै उडान निगमको ठूलो जहाज वाइडबडी ए३३०-२०० बाट गर्नेछ । यसअघि सन् २००७ सम्म निगमले चीनको सांघाई हुंदै ओसाकासम्म उडान गथ्र्यो । तत्कालीन समयमा विमानको कमीले जापान उडान स्थगित गरिएको थियो । सन् २००० मा ४१ हजार ७० जनाले जापान-काठमाडौं यात्रा गरेका थिए। जसमध्ये नेपाल वायुसेवा निगमको विमानबाट करिब २२ हजार यात्रु आएका थिए ।

ध्वजाबाहकको सेवा नभएपछि यात्रुसंख्या घट्दै गएर सन् २०१५ मा १७ हजार ६१३ यात्रुमा सीमित भएको थियो । निगमले ओसाका र नारितामा हप्ताको चार उडान थालेपछि वार्षिक सिट क्षमता ५७ हजार हुने र यसबाट यात्रु संख्या बढ्न गई नेपालको अर्थतन्त्रमा सकारात्मक परिणाम ल्याउने निगमको भनाइ छ ।

निगमको गृष्मकालीन तालिकाअनुसार काठमाडौं-ओसाका र ओसाका-काठमाडौं उडान एकतर्फी करिब ६ घन्टा ३० मिनेटको हुनेछ । दोस्रो चरणमा जापानको व्यस्त विमानस्थल नारितामासमेत नियमित उडान गर्ने योजना बनाई तदनुरूप प्रक्रिया अगाडि बढाइएको छ । टोकियोको नारितामा उडान सुरु गरेपछि दुवै गन्तव्यका लागि हप्तामा २/२ उडान गर्ने योजना छ । सन् १९९४ मा सुरु भएको काठमाडौं-ओसाका उडान २००७ सम्म नियमित थियो । बोइङ ७५७ जहाजबाट गरिएको उक्त उडान चीनको सांघाई भएर गर्ने गरेको थियो । अब काठमाडौं-ओसाका र ओसाका-काठमाडौं वाइडबडी विमानबाट सीधा उडान गरिनेछ ।

निगमले जापान उडानको एकतर्फी भाडादर न्यूनतम ४५ हजार रुपैयाँ तय गर्ने भएको छ । दुईतर्फी भाडादर भने ७७ देखि ८० हजार रुपैयाँ हुने निगमका सहप्रवक्ता नवराज कोइरालाले बताए । उनका अनुसार निगमले भाडादर तय गरेर नेपाल नागरिक उड्डयन प्राधिकरण पठाएको छ । उक्त भाडादर आइतबारसम्म स्वीकृत भएर आउने र टिकट बुकिङ खुला हुनेछ । 

तपाईको प्रतिक्रिया