काठमाडाैं – उनन्तीस वर्षीया एक कम्प्युटर वैज्ञानिकले ब्ल्याकहोलको पहिलो तस्बिर बनाउने कम्प्युटर प्रोग्राम विकास गर्न सहयोग गरेका कारण संसारभरि प्रशंसा बटुलिरहेकी छन् ।
केटी बोमनले ब्ल्याकहोलको ऐतिहासिक तस्बिर सम्भव तुल्याउने कम्प्युटर प्रोग्राम बनाउन अग्रणी भूमिका खेलेकी थिइन् । घुलो र ग्यासको आभामण्डल देखिएको पृथ्वीबाट ५०० मिलियन ट्रिलियन किलोमिटरको दूरीमा रहेको ब्ल्याकहोलको सो तस्बिर बुधवार सार्वजनिक गरिएको थियो । बोमनका लागि सो तस्बिरको निर्माण यसअधि असम्भव सोचिएको कार्य सम्पन्न गर्ने प्रयासको सार्थकता थियो ।
सफलताको त्यो क्षणमा बोमनलाई आफ्नो कम्प्युटरमा त्यो तस्बिर हेर्दै गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । उनले ‘ब्ल्याकहोलको पहिलो तस्बिर निर्माण हुँदै गर्दा अविश्वसनीय नजर लगाउँदै’ भन्ने भावमा फेसबुकमा लेखेकी छन् । उनले म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीमा विद्यार्थी छँदा तीन वर्षअघि त्यो प्रोग्राम बनाउन सुरु गरेकी थिइन् ।
https://www.facebook.com/photo.php?fbid=10213321822457967&set=a.1407432103727&type=3&theater
त्यहाँ बोमनले कम्प्युटर विज्ञान र आर्टिफिसियल इन्टिलिजेन्स प्रयोगशाला, हार्भर्ड स्मिथसोनियन सेन्टर फर अस्ट्रोफिजिक्स र हेस्ट्याक अवर्जर्भेटरीको सहयोगमा सो प्रोग्राम विकास गरेकी थिइन् । बीबीसीले उल्लेख गरेअनुसार आठ दूरबीनको सञ्जाल इभेन्ट हराइजन टेलिस्कोपले खिचेको सो तस्बिर बोमनको प्रोग्रामले एकैस्थानमा मिसाएको थियो ।
‘जब हामीले पहिलो पटक त्यो तस्बिर देख्यौँ हामीलाई विश्वास नै लागेन । त्यो निकै दर्शनीय थियो,’ उनले बताइन् । ‘हामी मौसमका हिसाबले भाग्यशाली भयौँ… हामी धेरै कुराले भाग्यमानी भयौँ ।’ तस्बिर सार्वजनिक भएको केही घण्टामा बोमनको विश्वभरि चर्चा भएको थियो र उनी ट्वीटरमा छाएकी थिइन् ।
क्लालिफोर्निया इन्स्टिट्युट अफ टेक्नोलोजीमा सहायक प्राध्यापक रहेकी बोमनले भने त्यो तस्बिर आफ्नो टोलीका कारण सम्भव भएको बताइन् । त्यो तस्बिर अन्टार्टिकादेखि चिलीसम्मका दूरबीनको सहायतामा २०० भन्दा बढी वैज्ञानिकहरूको कार्यले सम्भव भएको थियो ।