आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – मुम्बई– बलिउड अभिनेता सञ्जय दत्तले लोकसभा निर्वाचनमा उम्मेदवार नहुने स्पष्ट पारेका छन्।

सञ्चारमाध्यममा कांग्रेसबाट उम्मेदवार हुन लागेको खबर आएपछि सञ्जयले ट्वीटरमार्फत आफू कुनै पनि सीटमा चुनाव लड्ने योजना नरहेको स्पष्ट पारेका हुन्। ‘लोकसभा चुनावमा म उम्मेदवार हुने खबर झुटो हो। म आफ्नो देशको साथमा छुँ र मेरी बहिनी प्रिया दत्तलाई सहयोग गरिरहेको छुँ’, उनले लेखेका छन्।

उनले आफ्नी बहिनी प्रियालाई मतदान गर्न अपील समेत गरेका छन्। सञ्जय दत्तको परिवार राजनीतिमा सक्रिय छ। उनका पिता सुनील दत्त मनमोहन सरकार (सन् २००४–२००५) मा खेलकुद मन्त्री थिए। बहिनी प्रिया पनि सांसद भइसकेकी छिन्।

केही दिनअघि सञ्जय दत्त उत्तर प्रदेशको गाजियावाद जिल्लाबाट चुनाव लड्ने तयारीमा रहेको खबर आएको थियो। यो खबर सामाजिक सञ्जालमा भाइरल भएको थियो।

सञ्जय दत्त अहिले आफ्नो आगामी फिल्म कलंकको प्रमोशनमा व्यस्त छन्। फिल्मको ट्रेलर सार्वजनिक भइसकेको छ। उनी फिल्म तोरबाज, प्रस्थानम र पानीपतमा पनि देखिने छन्।

तपाईको प्रतिक्रिया