आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

टोकियो – गायिका सुशिला गौतमले नारी वेदनामा आधारित एकल गीत ‘पाहुना’ बजारमा ल्याएकी छिन् ।

गुल्मेली गायिका सुशिलाले जन्म घर छोडेर पराईको घर जानुपर्ने नारी बाध्यता भित्रका विभिन्न आयामलाई उक्त गीत ‘पाहुना’ मार्फत मर्मस्पर्शी ढंगले प्रस्तुत गरेकी छिन् ।
जन्मघर छोडेर पराईको घरमा गएपछि नारीलाई आफ्नै जन्मघर र माइती पनि बिरानो हुँदै जाने र पाहुना जस्तै बन्नुपर्ने नारीका हृदयविदारक कथालाई गीतमा उतारिएको छ ।

गीतमा भनिएको छ –
आमा तिम्रो खेलेको काखमा, झल्को बनि बिझाउँछ आँखामा,
भईछु परकी, म त अब पाहुना हो रे ओई जन्मघरकी

गल्ती गर्दा काँध थाप्ने दाइसित, दुखसुख पीर साट्ने भाइसित,
भईछु परकी …..
भन्थ्यौ आमा गाह्रो छ घरखान, गाह्रै रै’छ, अर्काको भरखान,
भईछु परकी …

गायनसंगै मोडलिङ्मा समेत आफुलाई अगाडि बढाईरहेकी सुशिलाको आफ्नै स्वर, लय र शब्द रहेको ‘पाहुना’ गीतमा नारी जातिको प्रतिनिधिमुलक वेदनालाई उजागर गर्न खोजिएको छ । उक्त गीतमा दुर्गा पौडेलको छायाङ्कन तथा निर्देशन रहेको छ भने सम्पादन नविन घर्ती मगरले गरेका छन् । मार्मिक रेकडिङ् स्टुडियोले उत्पादन गरेको पाहुनामा गायक विलन थापा मगरको एरेञ्ज रहेको छ ।

सुशिलाको गीतमा अगाडि भनिएको छ –
साथीसंगी त्यो बालापन, लेउ लाग्यो रे म नाच्ने आँगन,
भईछु परकी……
जुन सुख थ्यो’ आमाको काखमा, भेटिएन पर्राईको लाखमा,
भईछु परकी……

पराईको घरमा जतिसुकै सुखसयल र सुविधा भए पनि नारीका लागि आमाको न्यानो काख, आफु जन्मेको घरआँगन, बालापनका साथीसंगिनी जस्तो प्रिय र अपनत्व किमार्थ हुन नसक्ने भएता पनि त्यही माइतीघरबाट पराई हुनुपर्ने, पाहुना बन्नुपर्ने धरातलीय यथार्थता गीतको केन्द्रीय भाव रहेको छ ।

पाहुनाको गीति म्युजिक भिडियोमा स्वयम गायिका सुशिला र उनकी आमा लिलादेवी गौतमको अभिनय रहेको छ ।

गीत र संगीतको दुनियाँमै आफ्नो करियर खोज्न एक दशक अघि काठमाडौं खाल्डो झरेकी सुशिला यहि क्षेत्रमा निरन्तर संघर्ष गर्दै आईरहेकी छिन् । यस अघि उनका – चर्चा धेरै भो, बसायो बामरी हरर, मालीगाई भिरमा छ, माइतीको माया, गफ लायो सोल्टीले, रातो भाले, जवानीले ढुनुमुनु बनायो लगायत करीव दर्जन जति गीतहरु बजारमा आईसकेका छन् । मेला, महोत्सव तिर प्रायः ब्यस्त रहने यी गायिका साँगीतिक कार्यक्रमकै सिलसिलामा मलेसिया, बेलायत, भारत लगायतका मुलुकहरुमा गईसकेकी छिन् ।

आफ्नै घर आँगनमा आफ्नै आमा लगायत घरपरिवारका सदस्यहरुलाई दृश्यमा राखेर तयार पारिएको गीत ‘पाहुना’ हेरेर, सुनेर प्रतिक्रिया दिन गायिका सुशिलाले देशविदेशमा रहेका संगीतप्रेमी नेपालीहरुलाई अनुरोध गर्दै भनिन् -‘आफ्नै चेली सम्झी गीतको बारेमा सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला, जसले गर्दा थप अगाडि बढ्न ऊर्जा मिलोस् ।’ ***

तपाईको प्रतिक्रिया