शुक्रबार, बैशाख २१, २०८१
Friday, May 3, 2024

गायक पशुपति शर्माको गीत अहिले चर्चामा छ । गीत सार्बजनिक भएकै दिनमा एक पटक पुरै सुनियो । त्यसपछि लाग्यो कि, यो गीत हिट त हुन्छ नै विवाद पनि ल्याउँछ । नभन्दै गीत बाहिरिएको दुई दिनमै गीतमा प्रयोग भएमा भाषालाई पुनर्विचार गर्ने स्वयम गायकको अभिब्यक्ति आयो । एउटा गायकलाई आफ्नो विचारको अभिब्यक्ति गीतको माध्यमबाट प्रस्तुत गर्ने स्वतन्त्र अधिकार छ उनले त्यसै मानेमा सकेको जति विवेक खर्च गरी शब्द प्रयोग गरेर गीत बाहिर ल्याए । सोही गीतका कारण अहिले सामाजिक सञ्जालमा नेपालीहरु पक्ष र विपक्षमा ध्रुबिकृत भईरहेका छन् ।

देशको अवस्थालाई उजागर गर्नमा खर्चिएको यस गीतमा पशुपति जस्ता एउटा खारिएका सर्जकले शब्द चयनमा थोरै हेक्का राखेको भए राम्रो हुने थियो । गायक होस् या सर्जक अथवा कुनै प्रस्तोताले आफ्नो विचार सार्बजनिक गर्न स्वतन्त्र छ भन्दैमा अन्य सामाजिक मूल्य मान्यता र मर्यादाको पर्खाललाई पनि बिर्सन मिल्दैन । गीतको मुल थेगोमै नकारात्मकता बढि झल्किने ’जति सक्छौ लुट’ भनेर आदेशात्मक भाषामा गीत बगेको छ । सरकार पक्षिय होस् या बिपक्षी खेमामा आस्था राख्नेहरुका लागि बिरोध र समर्थन गर्ने एउटा बहाना त बन्यो नै कलाकारहरुले कलाकारको पक्षमा बोल्नु स्वभाविक धर्म नै भयो तर स्वतन्त्र हिसाब र निश्पक्ष तवरले भन्नुपर्दा पशुपतिको गीतमा अलि डाईजेष्ट हुन नसक्ने शब्दावली प्रयोग नभएको भए राम्रो हुनेथियो । देशमा सबैतिर भयावहकै स्थिति छ र लुट्नका लागि थप उक्साउने खालको यस गीतले हेर्न र सुन्नका लागि एकछिन मजा त देला तर यसले सन्देश के दिन्छ भन्ने कुरो मुख्य हो ।

नेपालमा सबै भिडकै पछि लाग्ने जमात मात्रै छैन, यहाँ बिषयवस्तुलाई मिहिनढंगले विश्लेषण गर्न सक्ने वौद्धिक समाज पनि छ, उसो त गीतमा भनिएजस्तो त्यतिसारो कहालिलाग्दो स्थिति पनि अहिले देशमा छैन । लामो संक्रमण कालबाट तंग्रिएको देशमा नयाँ संरचनाको ब्यवस्थापन गर्ने चरणमा रहेको अवस्था भएकोले केही गञ्जागोलको स्थिति अवश्य छ । त्यसो भएको हुनाले पक्ष र विपक्षमा आईरहेका क्रिया प्रतिक्रिया बिषयको गहिराईमा नपुगी हतारमा आएजस्ता देखिन्छन् । एकजना पढेलेखेका सचेत युवा गायकले कति हदसम्मका शब्दावली हाम्रो समाजमा पच्छ भन्ने बिषयलाई केन्द्रमा राखेर खबरदारी सम्मको भाषा प्रयोग गरेको भए उपयुक्त हुने थियो । सामाजिक सञ्जाल प्रयोगकर्तालाई बहसको एउटा बिषय चाहिएको थियो, ठिक त्यसै बेला त्यो बहस सुरु भएको छ । सरकारले हटाउन निर्देशन जारी गरेको जानकारी बाहिर आएको छैन, बरु गायक स्वयमले आफ्नो गल्ती स्वीकार्दै पुनः सम्पादन गर्ने अभिब्यक्ति दिएका छन् । उनको स्वीकारोक्तिलाई सलाम गर्नैपर्छ । हुन त उनलाई पुनर्सम्पादन गर्न के कस्तो दबाब आयो या आफ्नै स्वविवेकले त्यो निर्णय गरे आफै जानून् । देश, काल, समय, परिस्थिति र हाम्रो समाज चारैतिर हेरेर यदि उनले यो निर्णय गरेका हुन् भने उनले विवेक पुर्‍याएकै हुन् ।

सत्तामा बस्नेहरुका लागि उक्त गीत अलि बढि पूर्वाग्रही, अलि बढि प्रतिशोध र अलि बढि आक्रामक र अलि बढि एकपक्षिय एवं घोचपेच लाग्नु स्वभाविकै हो, तथापि नागरिक समाजको आवाज सुन्ने क्षमता राज्य सञ्चालनमा बस्नेहरुले पनि राख्नैपर्छ । बन्देज लगाउने सम्मको हर्कत सरकारी पक्षले गरेको भए घटनाले अर्कै मोड लिनेथियो जसका कारण अझ विकराल परिस्थिति उत्पन्न हुने थियो । तर दूवै पक्षको सुझबुझपूर्ण संवादबाट थप उत्तेजना फैलिने दुर्घटनाबाट परिस्थिति अवतरण भएको देखिन्छ । यस मानेमा सबै पक्ष संयमित भएर परिस्थितिलाई सहजीकरण गर्नु सबैको कर्त्तब्य हो ।

यहि गीत गाईजात्रे महोत्सवमा आएको भए त्यसलाई नेपाली जनताले त्यसरी नै लिने थिए । सत्ता पक्ष र सरकारलाई भन्दा पनि लुट्नका लागि नेपाललाई उर्वर भूमिकोरुपमा चित्रण गर्दै एउटा गायकले खुलायम मातृभूमिको बदनाम हुने खालको सन्देश बोकेकोले गीतमा पशुपति धेरथोर चिप्लेकै हुन्, तर उनले बेलैमा महशुस गरी सच्याउने उदघोष गरिसकेकोले अब उनलाई थप विवादित बनाउने काम कोही कसैबाट हुनु हुँदैन । पशुपति जस्ता नयाँ पुस्ताका अत्यधिक रुचाईएका होनहार गायकले अझ हजारौं गीत गाउनुपर्छ, जसको गीतले नेपाली समाजलाई विखण्डनतिर होईन, एकढिक्का बनाएर नेपाली समाजको सहिष्णुता र एकतालाई थप मजबुत बनाउन सक्नुपर्दछ । नेपाली कला एवं साँस्कृतिक क्षेत्रलाई थप सुसँस्कृत र परिस्कृत तुल्याउन उनको सिर्जनात्मक भूमिका आवश्यक छ ।***

तपाईको प्रतिक्रिया