शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – प्राविधिक इन्टर्नशीप स्कीम अन्तर्गत काम गर्न आएका ३६ वर्षिय चिनियाँ युवकलाई आफ्ना सहकर्मीको हत्या गरेको आशंकामा बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

क्योदो न्यूजका अनुसार तोचिगी केनको तोयामामा निर्माण सम्बन्धि कम्पनीमा कार्यरत ती दुई चिनियाँ नागरिकहरु कम्पनीले उपलब्ध गराएको अपार्टमा बस्दै आएका थिए ।
शाङ लिनवे नाम गरेका ती युवाले उनका ३७ वर्षिय सहकर्मी झोङ छुयचेङको हत्या गरेको प्रहरीले आशंका गरेको छ ।

प्रहरीका अनुसार बिहीबार बिहान ६ बजेतिर झोङ आफ्नै कोठामा मृत अवस्थामा फेला परेका थिए । उनको शरीरमा पुरै रगत लटपटिएको थियो ।

घटनास्थल पुगेको डेढघण्टा पछि प्रहरीले उनीहरुको कोठाबाट करीव २ किलोमिटरको दुरीमा रहेको काम गर्ने कम्पनीमा लुकिरहेको अवस्थामा शाङलाई पक्राउ गरेका थिए । घटना स्थलबाट प्रहरीले धारिलो चक्कु पनि बरामद गरेको छ । सोही चक्कुको प्रहारबाट शाङले आफ्ना सहकर्मीको हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।

जापानले विकासोन्मुख देशहरुमा सीप हस्तान्तरण गर्ने उद्देश्यले थुप्रै त्यस्ता मुलुकहरुबाट प्राविधिक इन्टर्नशीप कार्यक्रम अन्तर्गत विदेशी कामदारहरु भित्र्याउँदै आएको छ । कामदार अभाव पूर्ती गर्न कम्पनीहरुले सस्तोमा विदेशी कामदार भित्र्याउने गरेको भन्दै उक्त स्किमको आलोचना पनि हुँदै आएको छ ।***

तपाईको प्रतिक्रिया