शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – बनावटी प्रेममा फसाई ६३ लाख ५० हजार येन ठगी गर्ने ३४ वर्षिय एक जापानीलाई साइतामा प्रहरीले बिहीबार पक्राउ गरेको छ । अनलाईनमा भेटिएका एक महिलालाई उनले बनावटी प्रेममा फसाई उक्त रकम हडप्न सफल भएका थिए ।

श्रीमती र बालबच्चा सहित चिवा केनको मात्सुदोमा बस्दै आएका वातारु ताकेउचीले अनलाईनमा भेटिएकी ४० वर्षिय एक महिलासंग प्रेम प्रस्ताव राखी डेटिङ सुरु गरेका थिए । ओरियन्टल ल्याण्ड कम्पनीमा कार्यरत तथा टोकियो डिज्नी रिसोर्टका संचालक समेत रहेका ती पुरुषले गत नोवेम्वर १३ देखि डेटिङ सुरु गरेको प्रहरीले पत्ता लगाएको छ ।

प्रहरीका अनुसार सिरियस रिलेशनशीपमा जोडिन चाहनेहरुका लागि म्यारिज ब्यूरोकारुपमा काम गर्दै आएको अनलाईन साइटमा भेटिएका ती महिलालाई ताकेउचीले आफु अटो सेल्स कम्पनीमा काम गर्दै आएको बताएका थिए । उनले आफु पाईलट ट्रेनिङ गर्ने ठूलो सपना भएको तर आफुसंग पर्याप्त पैसा नभएको र काम गर्दै आएको कम्पनी पनि आर्थिक संकटमा रहेको भन्दै ती महिलाबाट ६३ लाख ५० हजार (६ सय ३५ मान) येन फुत्काउन सफल भएका थिए । तर उक्त रकम हात पारेपछि भने उनी एकाएक सम्पर्क बिहिन भएका थिए । त्यसपछि ती महिलाले साइतामा केनको तोक्रोजावा प्रहरीमा उजुरी गरेकी थिईन् । ब्यापक खोजतलास पछि बिहीबार बिहान उनलाई प्रहरीले गिरफ्तार गर्न सफल भएको हो ।***

तपाईको प्रतिक्रिया