शनिबार, जेठ ०५, २०८१
Saturday, May 18, 2024

टोकियो – आगामी मार्चमा नेपालमा हुन गईरहेको लगानी सम्मेलनको वातावरण तयार गर्ने उद्देश्यले टोकियोमा मंगलवार एक तयारी भेला सम्पन्न भएको छ ।

निजी क्षेत्रका सयौं जापानीहरुको उपस्थिति रहेको सो भेलामा बोल्दै जापानका लागि नेपाली राजदूत प्रतिभा राणाले नेपाल सरकारको आयोजनामा काठमाडौंमा हुन लागेको लगानी सम्मेलनमा सहभागी भईदिन जापानीहरु तथा प्रवासी नेपालीहरुलाई अपिल गर्नुभयो । सो अवसरमा राजदूत राणाले देशमा अहिले राजनैतिक स्थिरता कायम भईसकेको र लगानीका लागि उपयुक्त वातावरण बनेको जानकारी गराउँदै बैदेशिक लगानीकर्ताहरुलाई भित्र्याउन लगानी सम्मेलनको आयोजना गरिएको बताउनुभयो । सो बारे जानकारी गराई जापानी लगानीकर्ताहरुलाई उक्त सम्मेलनमा सहभागिताका लागि प्रोत्साहित गर्न टोकियो भेलाको आयोजना गरिएको बताउनुभयो ।

टोकियोमा आयोजित सो भेलामा बोल्दै राजदूत राणाले वैदेशिक लगानीकर्ताहरुलाई नेपालमा लगानीको अवस्था बारे बिस्तृतमा जानकारी गराई लगानीका लागि आह्वान गर्न आगामी मार्चको २९ र ३० मा काठमाडौंमा लगानी सम्मेलनको आयोजना गरिएको जानकारी गराउनुभयो । सो सम्मेलनमा सहभागिताका लागि यहि फेब्रुअरी १५ भित्र नाम दर्ता गराईसक्नुपर्ने बताउँदै राजदूत राणाले सो सम्बन्धि थप जानकारी वेभसाइटबाट पनि लिन सकिने बताउनुभयो ।
‘समृद्ध नेपाल र सुखी नेपाली’ को दृढ संकल्प सहित वर्तमान सरकार तिब्र आर्थिक विकासको नयाँ यात्रामा अगाडि बढिसकेको बताउँदै राजदूत राणाले सम्मेलनमा सहभागी भई थप जानकारी हासिल गर्ने सुनौलो अवसर नगुमाउन अपील गर्नुभयो । नेपालमा हुने लगानी सम्मेलनमा वक्ताकारुपमा आफ्ना विचार राख्न चाहने इच्छुक विज्ञहरुलाई प्यानल लिष्टमा राख्नका लागि नेपाली दूतावासले नेपाल सरकार र अन्य सहआयोजक संघसंस्थाहरुसंग समन्वय गर्ने र नेपाल सरकारको तर्फबाट निमन्त्रणा पठाईने पनि राजदूत राणाले जानकारी दिनुभयो ।
यसअघि राजदूत राणाले आफ्नो १८ महिने कार्यकालमा दूतावासद्वारा भएका कार्यप्रगति बारे जानकारी गराउनुभएको थियो । उहाँले यस अवधिमा नेपाल जापान दुई देशका परराष्ट्रमन्त्री स्तरिय हाइप्रोफाईल भ्रमण आदानप्रदान भएको, जसबाट जापान नेपाल सिधा उडान गर्ने बारे समझदारी भएको, नेपालका लागि जापानले खाद्यान्न सहयोग गर्न प्रतिबद्धता जनाएको, नयाँ भिसा प्रणालीअनुसार जापानी श्रमबजारमा नेपाली कामदारका लागि पनि ढोका खुल्ला गरिएको जस्ता महत्वपूर्ण कामहरु भएको जानकारी गराउनुभएको थियो । जसका कारण नेपाल र जापान सरकारका बिचमा मात्र नभएर दुईदेशका जनताबीच पनि जनस्तरिय सम्बन्ध थप सुदृढ बन्न पुगेको राजदूत राणाले प्रष्ट पार्नुभएको थियो ।
नेपाली राजदूतावास टोकियो जापानको आयोजना, एनआरएन जापान र नेपाली ब्यवसायी संघ (NBA) जापानको सह आयोजनामा भएको सो तैयारी भेलामा जिज्ञानकुमार थापाले ‘नेपाल लगानी सम्मेलन’ का बारेमा बिस्तृतमा जानकारी गराउनुभएको थियो । थापाले नेपालको वर्तमान अवस्था, लगानीका लागि संभावित क्षेत्रहरु र लगानीका लागि उपयुक्त वातावरणका आधारहरुका बारेमा प्रष्ट पार्नुभएको थियो । यसैगरी एनआरएन आइसीसीका अध्यक्ष भवन भट्टले समृद्ध नेपाल निर्माण गर्ने नेपाल सरकारको अभियानमा गैरआवासीय नेपालीहरुले पनि हातेमालो गर्दै आएको र यसै परिप्रेक्ष्यमा हुन लागेको लगानी सम्मेलनमा जापानी मित्रहरुको उत्साहजनक सहभागिताको अपेक्षा गरिएको बताउनुभयो । कार्यक्रममा दूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले सहभागी सबैलाई धन्यबाद ज्ञापन गर्नुभएको थियो भने द्वितीय सचिव टोपनारायण गिरीले भेलाको सहजीकरण गर्नुभएको थियो ।
भेलामा सयौं जापानी ब्यवसायीहरु र विभिन्न क्षेत्रका नेपालीहरुको उत्साहजनक उपस्थिति रहेको थियो ।***

तपाईको प्रतिक्रिया