आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडाैं  सुदूरपश्चिमको कञ्चनपुर जिल्ला, कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडको कोखबाट २०५४ सालमा तेस्रो सन्तानका रुपमा जन्मिएका हुन् रवि ओड । गरिब परिवारमा जन्मिएका रविलाई आफ्नो सांगितिक यात्रा अघि बढाउन निकै गाह्रो भयो । रवि बाजेको प्रेरणाले सांगितिक क्षेत्रमा अघि बढेका हुन्  ।

रविका बुवा बर्षौँदेखि भारतमा काम गरिरहनु भएको छ । रवि पनि केही वर्ष पैसा कमाउन भारत गएका थिए । तर, उनको मनले नमाने पछि उनी स्वदेश फर्किए । आफ्नो सपनालाई पूरा गर्ने कोसिसमा लागिरहे । यही क्रममा उनी नेपाल आइडलमा सहभागी बन्न पुगे ।

धनगढी अडिसनमा कमल खत्रीको आवाजमा रहेको ‘जाउँला रेलैमा’ बोलको गीत गाएर ओड नेपाल आइडलमा प्रवेश पाएका थिए। नेपाल आईडलमा जानुपूर्व पनि स्थानीय ठाउँमा विविन्न महोत्सवमा उनी सहभागी हुन्थे । संगीतमा विषेश रुची थियो उनको । गीत गुनगुनाइरहन्थे । रविले भने ‘नेपाल आइडल त मेरो लागि मीठो सपना मात्रै थियो, तर साथीभाइ र परिवारको सपोर्टपछि आइडलमा सहभागी हुन पुगेँ ।’

उनी अहिले दोस्रो नेपाल आइडल बनेका छन् । गरिब परिवारमा हुर्केका रविलाई जिताउन देश विदेशका समर्थकहरुले रवि ओड जिताऔँ अभियान नै सञ्चलान गरेका थिए । देउडा गीतका साथै हरेक विधाका गीतमा पोख्त रविले हरेक पाइलामा आफूलाई उत्कृष्ट बनाउँदै लगेका छन् ।

रविलाई धेरैले हिलोमा ‘फूलेको कमल’को संज्ञा दिएका छन् । उनले कहिल्यै संगीत सिक्ने अवसर पाएनन् । सुदूरपश्चिमको त्यो झुपडी नै उनको पाठशाला थियो । घर खर्च चलाउनकै लागि उनी २०७० सालको चुनावमा उनी म्यादी प्रहरीमा पनि भर्ना भएका थिए ।

‘सानो छँदा मैले गुनगुनाएको सुन्दा आमाले भन्नुहुन्थ्यो, ‘तिमी एकदिन ठूलो कलाकार बन्नेछौ ।’ रविले निराश हुँदै भने ‘तर अहिले मेरो यो सफलता हेर्नका लागि मलाई जन्मदिने आमा यो संसारमा हुनुहुन्न । कान्छि आमाले पनि मलाई धेरै सपोर्ट गर्नुभएको छ ।’

दोस्रो नेपाल आइडल

शुक्रबार ललितपुरको पुल्चोकमा रहेको इन्जिनियरिङ क्याम्पसको मैदानमा आइडल घोषणा भएपछि रविले खुसिका आँसु झार्दै भने ‘यो मेरो मात्रै जित होइन, सबै नेपालीको जित हो । मेरा फ्यानहरुको मेहनत, साथ र सहयोगको नतिजा हो यो ।’

नेपाल आइडल बनेपछि उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘देश विदेशबाट हजुरहरुले म प्रति देखाउनु भएको माया, साथ र सहयोगको लागि म भित्री मनदेखि धेरै धेरै धन्यवाद दिन चाहन्छु, र न्यानो सम्झना छ ।’

उनले आफ्ना समर्थकहरुलाई भगवानको दर्जा दिँदै लेखेका छन् ‘हजुरहरुको यो माया अनि सपोर्ट कहिले भुल्ने छैन । हजुरहरु नै हो मेरो लागि भगवान ।’

नेपाल आइडलको ग्राण्ड फिनालेमा अन्य प्रतिस्पर्धीलाई पछि पार्दै रवि आइडल बनेका हुन् । प्रतियोगीताको फष्र्ट रनर अप पोखराका विक्रम बराल, सेकेण्ड रनर अप झापाका सुमित पाठक र झापाकै अस्मिता अधिकारी चौथो भएका थिए ।

तपाईको प्रतिक्रिया