काठमाडाैं – तेह्रथुमका ६ वटै स्थानीय तहले विभिन्न किसिमका सवारी साधन खरिदमा झण्डै सात करोड खर्च गरेका छन् । कार्य सम्पादनमा सहजता ल्याउनका लागि आवश्यक भएको भन्दै स्थानीय तहको मोटो बजेट गाडी खरीदमा खर्च भएको छ । सबै स्थानीय तहको गरी कूल ६ करोड ९० लाख ३९ हजार ७०० गाडी खरीदमा खर्च भएको छ ।
वर्गीकृत विज्ञापन
म्याङ्लुङ नगरपालिकाले चालू आर्थिक वर्षमा ५५ लाखमा एउटा स्कार्पियो गाडी खरीद गरेको छ । यस्तै २९ लाखमा १० वटा मोटरसाइकल खरीद गरेको प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद वाग्लेले बताउनुभयो । गाडी नगर प्रमुखका लागि खरीद गरिएको र मोटरसाइकल नगरपालिकाका १० वटै वडाका वडाध्यक्षका लागि खरीद गरिएको नगरपालिकाले जनाएको छ । १९ लाखमा एउटा ट्र्याक्टर किनिएको र कर्मचारीका लागि थप १० वटा मोटरसाइकल किन्ने तयारी रहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले पहिले ३० लाखमा किनेको पिकअप गाडी चालू अवस्थामा छ । अरु छ वटा मोटरसाइकल र एउटा स्कुटर पनि सञ्चालनमा रहेको छ ।
लालीगुराँस नगरपालिकाले पनि ३३ लाखको पछाडि सामान बोक्न मिल्ने एउटा चार चक्के गाडी र १५ वटा मोटरसाइकल खरिद गरेको छ । नौ वटा मोटरसाइकल दुई लाख १७ हजारका दरले, तीन वटा दुई लाख ६० हजारका दरले र बाँकी तीन वटा भने दुई लाख तीन हजार, चार लाख ८० हजार र चार लाख ८४ हजारका दरले खरीद गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम निरौलाले बताउनुभयो । यसका साथै ३० लाखको एउटा ट्र्याक्टर, ९५ लाखको एउटा स्काभेटर र ३८ लाखको जेसिवीसमेत खरिद गरेको नगरपालिकाले जनाएको छ । चालू आर्थिक वर्षमा एउटा एम्बुलेन्स खरीदका लागि १० लाख र नगर बस खरीदका लागि ४५ लाख रकम छुट्याएर आवश्यक प्रक्रिया अगाडि बढाइएको अधिकृत निरौलाले बताउनुभयो ।
उता छथर गाउँपालिकाले पनि ६५ लाखमा पछाडि सामान बोक्न मिल्ने एक सवारी साधन खरीद गरेको छ । चार वटा मोटरसाइकल दुई लाख १७ हजारका दरले आठ लाख ६८ हजारको र दुई लाख ६० हजारमा थप एउटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य भण्डारीले बताउनुभयो । साविकका गाविसले खरीद गरेका तीन वटा मोटरसाइकल हाल वडाध्यक्षले प्रयोग गर्दै आएका छन् । मेन्छ्यायेम गाउँपालिकाले ६१ लाख ५० हजारमा स्कार्पियो गाडी खरीद गरेको छ । दुई लाख १७ हजारका दरले छ वटा मोटरसाइकल पनि खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवदीप राईले बताउनुभयो ।
फेदाप गाउँपालिकाले ५४ लाख १५ हजारको स्कार्पियो गाडी र रु पाँच लाख ९४ हजार ९०० का दरले तीन वटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले बताउनुभयो । उहाँले तीन लाखका दरले थप तीन वटा मोटरसाइकल पनि चाँडै खरीद गरिने बताउनुभयो । साविक गाविसले पहिले नै पाँच वटा मोटरसाइकल खरीद गरेका थिए । आठराई गाउँपालिकाले ५२ लाखमा एउटा स्कार्पियो गाडी र दुई लाख १५ हजारका दरले चार वटा मोटरसाइकल खरीद गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र दाहालले बताउनुभयो । उहाँले कार्यालय प्रयोजनका लागि थप एउटा मोटरसाइकल खरीद गर्न पाँच लाख रकम छुट्याएको बताउनुभयो । साविकका गाविसले खरीद गरेका सात वटा मोटरसाइकल वडाध्यक्षले प्रयोग गर्दै आएको गाउँपालिकाले जनाएको छ ।
यातायातका साधन आवश्यक भए पनि आवश्यकताभन्दा बढीमात्रामा खरीद गरिनुले जनप्रतिनिधि तथा कर्मचारी अलिक बढी विलाशीता भोगी हुँदै गएको आभास भइरहेको सर्वसाधारणले गुनासो गर्न थालेका छन् । –रासस