बुटवल – वैदेशिक रोजगारीमा गएका नेपालीहरु शेयर खरीद बिक्रीमा संलग्न हुने क्रम बढेको छ । खासगरी कोरिया, दुवई, साउदी अरबलगायतका मुलुकमा वैदेशिक रोजगारीमा गएकाले आफ्नो परिवार वा अनलाइनमार्फत् ५० हजारदेखि पाँच लाखसम्मको शेयर खरीद तथा बिक्री गर्ने गरेको बुटवलस्थित विभिन्न शेयर दलालका कार्यालयले जनाएका छन् ।
वर्गीकृत विज्ञापन
“उनीहरुले विदेशबाट नै भन्छन् र हामीले खरीद गरिदिन्छौँ” दक्षिणकाली इन्भेष्टमेण्ट बुटवलका शङ्कर भण्डारीले भन्नुभयो । पूँजी बजार अनलाइन प्रणालीमा गएपछि सबैभन्दा बढी वैदेशिक रोजगारीमा गएका लगानीकर्ता खुशी देखिएको उल्लेख गर्दै उहाँले आफ्नो कार्यालयबाट सबैभन्दा बढी कोरियाका रहेको बताउनुभयो । अघिल्लो साता सो कार्यालयबाट कूल ६० लाख बराबरको कारोवार भएको छ । एशियन सेक्युरिटिज प्रालि (२६) नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले भाइवरको प्रयोगमार्फत शेयरको माग गर्ने गरेको जानकारी दिँदै तीनदेखि रु पाँच लाख बराबरको शेयर खरीदको माग भएको छ भन्नुभयो ।
दुवही, साउदी अरब र कोरियाबाट समेत शेयर खरीद तथा बिक्रीका लागि आउने गरेको उल्लेख गर्दै रुपन्देही, पाल्पा र गुल्मीका वैदेशिक रोजगारीमा गएका श्रमिक शेयर बजारप्रति आकर्षित भएको उहाँको भनाइ थियो । सो सेक्युरिटिज प्रालिबाट अघिल्लो साता कूल ५७ लाख ५१ हजार बराबरको कारोवार भएको थियो । आर्यनतारा इन्भेष्टमेण्ट प्रालि (५७) नं दलाल कार्यालय बुटवलका टेकराज भट्टराईले कोरियाबाट चार जनाले शेयर खरीद तथा बिक्री गरेको जानकारी दिँदै अनलाइनबाट नै भुक्तानी हुने गरेको बताउनुभयो ।
“ वैदेशिक रोजगारीमा गएकाले श्रीमती वा परिवारको सदस्यको नाममा शेयर खरीद बिक्री गर्नुहुन्छ र चेक पनि बोकेर आउनुहुन्छ ”, भट्टराईले भन्नुभयो । उक्त कार्यालयबाट कूल एक करोड २६ लाख १३ हजार ३८० बराबरको कारोवार भएको थियो । लगानीकर्ताको बैंकसम्बन्धी शेयर सबैभन्दा बढी रोजाइमा परेको छ । यी बाहेक रुपन्देहीमा पाँच वटा शेयर दलाल कार्यालयले शेयरको खरीद तथा बिक्री गर्ने गर्छन् ।
बुटवलका लगानीकर्तामा खुशियाली
शेयर बजार अनलाइन प्रणालीमा गएपछि बुटवलका लगानीकर्ता खुशी देखिएका छन् । उनीहरुले अनलाइन प्रणालीमा गएपछि बजार बढ्ने विश्वास व्यक्त गर्दै प्रविधिलाई सहज र सरल बनाउन जोड दिएका छन् । सैनामैना नगरपालिका–३ का विष्णु पन्थीले लामो समयदेखिको प्रयास सफल भएको उल्लेख गर्दै लगानीकर्तालाई अनलाइन प्रणालीले उत्साहित बनाएको बताउनुभयो ।
उहाँले शेयर बजारलाई प्रविधिमैत्री बनाउनु सबै लगानीकर्तामा आशाको सञ्चार भएको टीप्पणी गर्दै यसको प्रभाव बजारमा देखिनुपर्ने तर्क गर्नुभयो । एशियन सेक्युरिटिज प्रालि (२६) नं दलाल कार्यालय बुटवलका पुष्पनिधि ढकालले पूँजी बजार अनलाइन प्रणालीमा गए पनि मङ्गलबार कारोवार गर्न सहज नभएको उल्लेख गर्दै तयारी पूरा गरेर मात्रै अनलाइन प्रणालीमा जाँदा लगानीकर्तालाई झण्झट हुने थिएन भन्नुभयो । उहाँले अनलाइनका विषयमा धेरै लगानीकर्ताको फोन आएको जानकारी दिँदै अब शेयर बजारका लागि यो सुखद् र उत्साहित विषय भएको बताउनुभयो ।