शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – नेपाली ब्यवसायी संघ (NBA) शिनओकुबो जापानको आइतवार भएको प्रथम अधिवेशनले ब्यवसायी बिजय थकालीको अध्यक्षतामा १९ सदस्यीय सर्बसम्मत नयाँ कार्यकारी समिति चयन गरेको छ ।

अधिवेशनले वरिष्ठ उपाध्यक्षमा ददिवल खड्का, उपाध्यक्षमा सञ्जिव पोखरेल, महासचिवमा पुष्करजंग थापा, सचिवमा बाबुराम पौड्याल, कोषाध्यक्षमा नरबहादुर थापा र सहकोषाध्यक्षमा जीवन गुरुङलाई चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा महेश श्रेष्ठ, ओम गुरुङ, तिलक मल्ल, महेन्द्र बानियाँ, बाबुराम भण्डारी, कुमार कार्की, सचिन श्रेष्ठ, विष्णु त्रिपाठी, प्रकाश बस्नेत, राजेश श्रेष्ठ, रविना मरहट्ठा र मार्शल रायमाझी चयन भएका छन् ।

अधिवेशन आयोजक समितिका संयोजक बिजय थकालीको सभापतित्वमा भएको सो अधिवेशन समारोहको दिप प्रज्वलन गरी उदघाटन गरिएको थियो । राष्ट्रियगानबाट सुरु गरिएको सो समारोहमा नरबहादुर थापाको स्वागत मन्तब्य रहेको थियो भने नेपाली ब्यवसायी संघको स्थापना गर्नुको औचित्य र ब्यवसायी संघको अबको दिशा एवं कार्यभारका सम्बन्धमा महेश श्रेष्ठले प्रकाश पारेका थिए । अधिवेशनले तिलक मल्लद्वारा प्रस्तावित विधानलाई सामान्य संशोधनसहित पारित गरेको छ ।

जसअनुसार तत्कालका लागि शिनओकुबो र यसको आसपासको क्षेत्रलाई कार्यक्षेत्र मानिए पनि क्रमशः यसलाई जापानब्यापी बिस्तारित गरिने गरी विधान पारित गरिएको छ ।
अधिवेशन समारोहमा आगामी दुई वर्षे कार्यकालका लागि प्रस्तावित कार्यसमितिको नामावली सर्बसम्मत पारित भएपछि नयाँ कार्यसमितिको घोषणा गरिएको थियो । कार्यसमितिमा चयन भएकाहरुलाई विशेष अतिथि एनारएन आइसीसी प्रवक्ता भूषण घिमिरेले सपथ गराएका थिए ।

नवगठित कार्यसमितिलाई विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले शुभकामना दिनुका साथै ब्यवसायी संघले गर्नुपर्ने कार्यहरुका बारेमा सुझाव दिएका थिए । बोल्ने वक्ताहरुले ब्यवसायी संघले अन्य संघसंस्थाहरुको भिडमा फरक ढाँचा र कार्यशैलीका साथ महशुस हुने गरी ब्यवसायिक हितका कामहरु गरेर देखाउनुपर्नेमा जोड दिएका थिए ।

बोल्ने वक्ताहरुमा एनआरएन आइसीसीका प्रवक्ता भूषण घिमिरे, आइसीसीका सदस्यद्वय ओम गुरुङ, कपिलदेव थापा, नेपाल पत्रकार महासंघ जापान शाखाका सल्लाहकार बेलुकाजी थापा, प्रवासी नेपाली मञ्चका उपाध्यक्ष बाबुराम भण्डारी, नेपाली जनप्रगतिशील मञ्चका अध्यक्ष हवलचन्द्र लामा, नेपाली जनसम्पर्क समिति जापानका महामन्त्री रामजंग कार्की, नेपाल आदीबासी जनजाति महासंघ जापानका प्रवक्ता श्रीभक्त गुरुङ, नेपाल पत्रकार महासंघ जापान शाखाका सचिव ऋतुकुमार दुरा लगायतका रहेका थिए ।

समारोहमा नेपाली राजदूतावासका उपनियोग प्रमुख कृष्णचन्द्र अर्यालले ब्यवसायी संघले जापानमा नेपाली ब्यवसायीहरुको हक हितका लागि धेरै कामहरु गर्न सक्ने बताउँदै यसको भविष्य र संभावना प्रशस्त रहेको धारणा ब्यक्त गरे । उनले नेपाली ब्यवसायी संघलाई आवश्यक पर्ने सहयोगका लागि नेपाली राजदूतावासको ढोका सँधै खुल्ला रहने वचनवद्धता पनि ब्यक्त गरे ।

समारोहको समापन गर्दै नवनिर्वाचित अध्यक्ष विजय थकालीले नेपाली ब्यवसायीहरुको हक, हित र ऐक्यबद्धताका लागि संघले तदारुकताका साथ आवश्यक कदम चाल्ने बताए । उनले भने – ’आपसी हितका लागि ब्यवसायीहरु बीचको एकतालाई सुदृढ गर्दै, अवाञ्छित गतिविधिको रोकथाम र नयाँ नयाँ ब्यवसायिक संभावनाको खोजी गर्ने यस कार्यसमितिको प्रमुख कार्यभार हुने छ, त्यसका लागि सबै ब्यवसायीहरुको रचनात्मक सहयोगको अपेक्षा गरेका छौं ।’
टोकियो रोधी क्लवको सभाकक्षमा भएको सो समारोहको अधिवेशन आयोजक समितिका उपसंयोजक समेत रहेका नवनिर्वाचित महासचिव पुष्करजंग थापाले सञ्चालन गरेका थिए ।

ब्यवसायी संघले नितान्त फरक शैली र नयाँ ढाँचामा कार्यसम्पादन गर्दै जाने नीति अगाडि सारेको छ । जसअनुसार खादा, रिबन, ब्याच, भद्दा आसन ग्रहण जस्ता बिषयलाई कटौती गर्दै जाने र संघको कार्यसमितिमा सल्लाहकार, संरक्षक जस्ता आलांकारिक पदहरु नरहने ब्यवस्थासहितको विधानलाई पारित गरेको छ ।

मुलधारका ठूला जापानी मिडियाहरुको समेत ध्यानाकर्षित गरिरहेको नेपालीहरुको विजनेश हब मानिने शिनओकुबोमा अत्यधिक नेपाली गतिबिधी केन्द्रित भईरहेको र समय समयमा हुने अवाञ्छित गतिविधीहरुले गर्दा ब्यवसायिकरुपमा नकरात्मक असर पर्नुका साथै समस्त नेपालीहरुलाई लज्जित हुनु परेको विगतको अनुभवबाट पाठ सिक्दै ब्यवसायी संघले यस तर्फ यथाशिघ्र आवश्यक कदम चाल्ने कार्ययोजना अगाडि सारेको छ ।***

 

तपाईको प्रतिक्रिया