शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – लोक तथा दोहोरीगीत सम्राटकारुपमा चिनिने लोक तथा दोहोरी गायक प्रजापति पराजुली टोकियोमा सम्मानित भएका छन् ।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको जापान शाखाले बिहीबार साँझ एक समारोहका बिच वरिष्ठ गायक पराजुलीलाई सम्मान गरेको हो ।

जीवनका चार दशकभन्दा बढि उर्वर समय लोक तथा दोहोरीगीतको क्षेत्रमा अनवरतरुपमा खर्चेका गायक पराजुलीलाई लोक तथा दोहोरीगीतको उत्थानमा अतुलनीय योगदान गरेको भन्दै उनको सम्मान गरेको हो ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालका संस्थापक उपाध्यक्ष तथा पूर्व अध्यक्ष समेत रहेका गायक पराजुली नेपालीहरुको बिशेष पर्व तीजको अवसरमा बिहुँकोट समाज जापानले टोकियोमा आयोजना गरेको एक साँगीतिक कार्यक्रमका लागि जापान आएका हुन् ।

प्रतिष्ठान जापान शाखाका अध्यक्ष युवराज आचार्यको सभापतित्वमा भएको सो सम्मान कार्यक्रममा बोल्दै गायक पराजुलीले दोहोरीगीतलाई बिकास र बिस्तार गर्न तत्कालिन असहज परिस्थितिमा ब्याजमा ऋण खोजेर दोहोरीगीत प्रतियोगिताको थालनी गरेको बताए । उनले भने – ’तीजको अवसरमा दरखाने र तीज कार्यक्रमलाई सामुहिकरुपमा मनाउने प्रचलन सुरु गरिएकैले अहिले यसले देशबिदेशमा ब्यापकता पाएको छ, यो खुशीको कुरो हो ।’

हाम्रा हजुरआमा, आमाहरुले तीज सँस्कृतिलाई जोगाईराख्न धेरै मिहिनेत गर्नुभयो, त्यसको कहीँकतै मुल्याङ्कन भएन, पुरस्कारको नाममा ’प’ र सम्मानको नाममा ’स’ भेट्टाउनुभएन । तीज सँस्कृतिको मौलिक पक्षलाई मात्र हामीले जोगाउन सक्यौं भने उहाँहरुप्रतिको सच्चा सम्मान हुने छ – उनले भने ।

रातारात चर्चा कमाउने र कमर्शियल लाभ उठाउने ध्याउन्नमा तीज गीतलाई रत्यौली बनाउन थालिएकोप्रति भने उनले गहिरो चिन्ता ब्यक्त गरे । उनले भने – ’ नयाँ पुस्ताका चल्तीका गायक- गायिकाहरुले तीज र रत्यौलीको गीत छुट्याउन नसक्नु विडम्वनापूर्ण छ ।’
सो अवसरमा बोल्ने बक्ताहरुले दोहोरीगीत, भजन, तीजका गीत र रत्यौली जस्ता नेपाली सँस्कृतिका धरोहर मानिने मौलिक पक्षहरुको प्रबर्द्धन र बिस्तार गर्न प्रतियोगितात्मक कार्यक्रमको सुरु गरेर नेपाली लोक तथा दोहोरी क्षेत्रको विरासतलाई ब्यवसायीकरण गरी आजको उचाईमा पुरयाउन गायक पराजुलीको योगदान अतुलनीय रहेको बताएका थिए ।

बोल्ने वक्ताहरुमा प्रतिष्ठान जापान शाखाका सल्लाहकारहरु गायक तथा संगीतकार राकृष्णबम मल्ल, नेपाल पत्रकार महासंघ जापानका संस्थापक अध्यक्ष समेत रहेका तिलक मल्ल, ब्यवसायी ईश्वरी कँडेल र शाखाका अध्यक्ष युवराज आचार्य लगायतका रहेका थिए ।

वरिष्ठ लोकगायक पराजुलीलाई सम्मानपत्र र खादार्पण गरी सम्मान गरिएको थियो भने उपहारस्वरुप मायाको चिनो प्रदान गरिएको थियो । सो अवसरमा तीज कार्यक्रमका लागि जापान आएका अर्का गायकद्वय प्रकाश सपुत र ईश्वर सिंहलाई पनि प्रशंसापत्र र खादार्पण गरी सम्मान गरिनुका साथै मायाको चिनो उपहार प्रदान गरिएको थियो ।

प्रतिष्ठानको जापान शाखाका सचिव नारायण कँडेलको सञ्चालन रहेको सो कार्यक्रममा सहसचिव गायिका सोना केसीको स्वागत मन्तब्य रहेको थियो ।

टोकियो उएनोस्थित सेवा भोजनालयमा रात्रीभोजसहित भएको सो सम्मान कार्यक्रमपश्चात गायक पराजुलीसंग दोहोरीको घम्साघम्सीमा सहभागीहरु झुमेका थिए ।***

तपाईको प्रतिक्रिया